निषेधाज्ञा खुकुलो बनाउने तयारी

एक साता अथवा थप १० देखि १५ दिन थप
खाद्यान्न तथा पसल र तरकारी पसल १० बजेसम्म खुलाउन दिइने
निजी सवारी साधन जोरबिजोर लागु गरिने
कृषिखेति गर्न दिने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म लम्बिने भएको छ ।

कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप गरिने उपत्यकाका तीनओटै जिल्ला प्रशासनले जनाएका छन् ।

frontline

 
यसैबीच, कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञा असारदेखि खुकुलो बनाउने तयारीमा उपत्यकाका तीन प्रशासन कार्यालय जुटेका छन् । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिनाभन्दा धेरै समयदेखि निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञाको मारमा परेका विपन्न, मजदुर, यातायात व्यवसायी, स्थानीय तहले निषेधाज्ञा खुकुलो बनाइ काम गर्ने वातावरण मिलाइदिन माग गर्दै आएका छन् । 

काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरी उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानु पर्ने बताएका छन् ।

‘‘उपत्यकाको संक्रमणदर घट्दै गएको छ । अब जनजीवनमा सहजीकरण गर्दै लैजानुपर्छ,” मेयर शाक्यले भने, ‘‘उपत्यकाका सवारी आवागमन हुने नाकामा कडाइ गरिनुपर्छ ।

निषेधाज्ञा एकैपटक नखोली चरणवद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ ।”

एकै पटक निषेधाज्ञा खुकुलो पार्दा फेरी संक्रमण फैलिने सक्ने जोखिम रहेकाले गृह मन्त्रालयले तत्काल निषेधाज्ञा हटाउन नहुनेमा जोड दिएको छ । जिल्ला प्रशासन कार्यालय भने निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनु पर्नेमा सकारात्मक देखिएका छन् ।

तर, कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे थप निर्णय नभइसकेको र निरन्तर सरोकारवालाहरुसँग छलफलमै रहेको प्रशासनका अधिकारीहरुले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार सरोकारवालाहरुसँग परामर्श र संक्रमणको समीक्षा गरी निषेधाज्ञा खुकुलो बनाउने तयारी जारी छ । 

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले अझै एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लम्बाउन सुझाव दिइसकेको छ ।

शुक्रबार बसेको डीसीसीएमसीको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने सुझाव अनुसार एकसाता थप गर्ने तयारी प्रशासनको छ ।

निषेधाज्ञा लम्ब्याउनेबारे अनौपचारिक निर्णय भइसकेको छ । ‘‘यसकै आधारमा एक साता अथवा थप १० देखि १५ दिन थप हुन सक्छ । अहिले नै यति भनेर भन्न सकिने अवस्था छैन ।

निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी कुन क्षेत्रलाई प्राथमिकताका साथ खुकुलो बनाउँदै लैजाने भन्नेबारे निर्णय भइसकेको छैन । छलफल भइरहेको छ,” प्रजिअ निरौलाले भने । 

प्रशासनका अधिकारीको भनाइ अनुसार विकास निर्माणलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिने तयारी छ ।

जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइने छ । 

निजी सवारी साधन जोरबिजोर लागु गरिनेछ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । व्यवासायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी हुने मोडालिटी ल्याइनेछ ।

भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय तोकिनेछ ।  यस विषयमा आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर औपचारिक निर्णय गर्ने भनिएको छ ।  

‘‘उपत्यकाको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदैछ । यसर्थ निषेधाज्ञामा यी क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे आज तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञामा औपचारिक निर्णय निकाल्ने छौँ,” प्रजिअ निरौलाले भने, ‘‘खेति गर्ने महिना भएकाले यसबारे सहजीकरण गर्ने भन्ने छ ।

जस अन्तरगत बिउ, मल ढुवानी र स्वास्थ्य मापदण्ड पालना गरी कृषिखेति गर्न दिने भन्ने छ ।” 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको उपत्यकाको संक्रमणको तथ्यांक हेर्ने हो भने ५९८ जना संक्रमित थपिएका छन् ।

प्रजिअ निरौलाका अनुसार उपत्यकाबाट लाखौँ मानिस आफ्नो गृहजिल्ला फर्किए पनि जनसंख्याको चाप धेरै घटेको छैन ।त्यसैले पनि तत्कालै निषेधाज्ञा खुलाइ हान्नुपर्ने अवस्था नआइसकेको उनको भनाइ छ । 
‘‘सीमित क्षेत्रमा स्वास्थ्य मापदण्डमा कडाइ गरी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेका छौँ । यस विषयमा हामी निरन्तर छलफलमा छौँ,” प्रजिअ निरौलाले भने । 

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो हुनेबारे तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ ।

 पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि ३१ गते सोमबार राति १२ बजे सकिँदैछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here