निर्वाचन सुरक्षार्थ प्रदेशमा खटिए प्रहरीका सात एआईजी
काठमाडौं — प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन र ‘फिल्ड र केन्द्र’बीच समन्वय गर्ने गरी ७ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई सातै प्रदेशमा खटाएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचन सम्पन्न भएपछि मात्रै फिर्ता हुने गरी हेडक्वार्टरबाट एआइजीहरुलाई सातै प्रदेशमा खटाएका हुन् ।
खटिएका सबै एआईजी अहिले फिल्डमै कार्यरत रहेको प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार कोशी प्रदेशमा एआईजी राजन अधिकारी, मधेसमा डम्बर बिक, बागमतीमा सिद्धिविक्रम शाह, गण्डकीमा मनोज केसी, लुम्बिनीमा उमाप्रसाद चतुर्वेदी, कर्णालीमा सुशीलसिंह राठौर र सुदूरपश्चिममा हिमालयकुमार श्रेष्ठलाई खटाइएको हो । उपत्यकामा एआईजीकै दरबन्दी भएकाले यहाँको सुरक्षा कमाण्ड एआइजीबाटै हुँदै आएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाको सुरक्षामा अहिले एआईजी ईश्वर कार्कीको नेतृत्वमा छ । प्रदेश प्रहरीको नेतृत्वमा भने डीआइजीहरू कार्यरत छन् । केन्द्रबाट खटिएका एआईजीहरूले डीआइजी र त्यसमुनिका सबै युनिटहरूसँग आवश्यक समन्वय, सुरक्षा कार्ययोजना प्रभावकारी बनाउन निर्देशन, कमीकमजोरी देखिए थप रणनीति बनाएर त्यहीअनुसार परिचालन व्यवस्थापन गर्नेलगायत भूमिकासहित खटाइएको छ ।
निर्वाचन सुरक्षामा देशभर करीब ७५ हजार प्रहरी खटिएका छन् । निर्वाचन मतदानस्थल/मतदान केन्द्रको सुरक्षामा नेपाल प्रहरी र १ लाख ४९ हजार निर्वाचन प्रहरी तैनाथ भइसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार देशभरका सामान्य सुरक्षा पहिचान गरिएका मतदानस्थलमा करिब १४ हजार, संवेदनशीलमा करीब २७ हजार, अति संवेदनशीलमा करिब ३७ हजार प्रहरी र निर्वाचन प्रहरी तैनाथ छन् । यसबाहेक कमाण्ड अपरेसनका लागि करिब १३ हजारसहित मोबाइल, रिजर्भ, अन्य सुरक्षालगायतमा पनि ठूलो संख्यामा प्रहरी र निर्वाचन प्रहरी तैनाथ भइसकेका छन् ।






प्रतिक्रिया दिनुहोस्