निर्वाचनको कार्यतालिका स्वीकृत, उम्मेदवारी दर्ता असोज २३ गते
२४ साउन, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगको सोमबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता असोज २३ गते गर्नुपर्ने छ ।
तर, समानुपातिक उम्मेवारहरुको बन्द सूचि भने असोज २ र ३ गते भित्रै आयोगमा बुझाउनु पर्ने छ ।
उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ ।
बन्द सूचिको प्रयोजनका लागि यहि साउन ३० गतेसम्म कार्यालय स्थापना गरिसक्ने आयोगले जनाएको छ ।
असोज ११ निर्वाचन अधिकृतहरू नियुक्त गर्ने र असोज २१ भित्र निर्वाचन अधिकृत कार्यालय खोल्ने आयोगको कार्यतालिका रहेको छ ।
कात्तिक २७ मा मतपत्र निर्वाचन क्षेत्रमा पुर्याउने कार्यतालिका रहेको छ । आयोगले आफ्नो तयारीका लागि कार्यतालिका बनाएकाले समानुपातितर्फको बाहेक अन्य कार्यतालिकामा आवश्यकता अनुसार हेरफेर हुनसक्ने पनि जनाइएको छ ।
असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।
आयोगका अनुसार मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्