निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाको कर्जा ४ खर्बमाथि

चालु आव ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ बढेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • चालु आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँले बढेको छ।
  • गत आवको सोही अवधिमा कर्जा २ खर्ब ४६ अर्ब ८० करोडले बढेको थियो र वार्षिक बिन्दुगत आधारमा ८.७ प्रतिशतले वृद्धि भएको हो।
  • कर्जा प्रवाहमा निजी क्षेत्रको वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले क्रमशः ८.४, ४.७ र ६.९ प्रतिशतले वृद्धि देखाएका छन्।.

२४ असार, काठमाडौं । चालु आर्थिक वर्ष जेठसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार देखिएको छ । आर्थिक गतिविधिमा देखिएको सुधारले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको हो ।

चालु आव ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आव जेठसम्म यस्तो कर्जा २ खर्ब ४६ अर्ब ८० करोडले बढेको थियो । चालु आव सोही अवधिको कर्जा वृद्धि वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा ८.७ प्रतिशत बढेको हो ।

२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत थियो ।

चालु आव जेठसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैंकहरूको ४.७ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.९ प्रतिशत बढेको छ ।

२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १४.५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६५ प्रतिशत छ । २०८१ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२ र ६८.५ प्रतिशत थियो ।

चालु आव २०८१/८२ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२.९, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ५.२, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १३.५, सेवा उद्योग क्षेत्रतर्फ ८.८ र उपभोग्य क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशत बढेको छ ।

चालु आव सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४२.८, ट्रस्ट रिसिट (आयात) कर्जा ६२.२, हायर पर्चेज कर्जा ५.५, नगद प्रवाह कर्जा ०.६ र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.० प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १३.२ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

कर्जा |निजी क्षेत्र |बैंक तथा वित्तीय संस्था

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here