नासाले मंगल ग्रहमा कुनै बेला जीवको अस्तित्व रहेको संकेत फेला
५ माघ, काठमाडौं । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको क्युरिओसिटी नामक यानले उक्त ग्रहमा कुनै बेला जीवको अस्तित्व रहेको संकेत फेला पारेको छ ।
अनुसन्धानका क्रममा क्युरिओसिटी यानले संकलन गरेका चट्टानमा जैविक कार्बन (अर्गानिक कार्बन)को मात्रा रहेको पाइएको मेट्रो समाचार माध्यमले जनाएको छ ।
चट्टानमा रहेको जैविक कार्बन कुनै बेला मंगल ग्रहमा बाँच्ने कीराको रहेको हुन सक्ने अनुमान गरिएको छ ।
मंगल ग्रहका आधा दर्जन स्थानबाट संकलित चट्टानको भित्री पत्रको विश्लेषणपछि प्राचीन कार्बन चक्र पहिचान गरिएको हो ।
संकलित नमुनामा चट्टानमा २ अर्ब ७० करोड वर्ष पहिला अष्ट्रेलियामा फेला परेको सूक्ष्म जीवाणुको अवशेष झल्काउने ‘जैविक आधार’ रहेको समाचारमा उल्लेख छ ।
चट्टानको कार्बनमा रहेका दुईवटा स्थिर आइसोटपबाट कार्बन उत्पत्तिको स्रोत पत्ता लगाइएको हो ।
नासाको क्युरिओसिटी यानले ९ वर्षदेखि मंगल ग्रहको गेल क्रेटरको अन्वेषण गरिरहेको छ ।
यानले झण्डै साढे ३ अर्ब पुरानो ‘डिप लेक’ ठानिएको उक्त क्रेटरभित्र ड्रिलिङ गर्दै प्राप्त नतिजा पृथ्वीमा पठाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्