धरान डे को अवसरमा सिम्रिक एयरको विशेष छुटको व्यवस्था

१९ पुस, धरान  । धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा सिम्रिक एयरले विशेष छुटको व्यवस्था गर्ने भएको छ।

सिम्रिकले धरान उपमहानगरपालिकाको स्थापना दिवसको दिन पुस २० गते देखि ३० गते सम्म प्रदेश १ का धार्मिक स्थलहरु खोटाङको हलेसी महादेव र ताप्लेजुङको पाथिभरा मन्दिरसम्मको हवाइ यात्रामा विशेष छुटको व्यवस्था गरेको हो ।

frontline

धरान उपमहानगरपालिकाले पुस २० गते देखि २३ गते सम्म धरान डेको अवसरमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । सोही अवसरमा सिम्रिक र धरान होलिडेजको संयुक्त आयोजनामा सिम्रिकले हवाई यात्रा गराउन लागेको हो ।

यस अगाडि ३२ हजारमा पाथिभरा र हलेसी उडान भर्दै आएको सिम्रिक हेलिकोप्टरले धरान उत्सवको अवसरमा विशेष छुट गरी २८ हजारमा हवाई भाडा निर्धारण गरेको धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले बताएका छन् ।

धरान उत्सवको अवसरमा मंगलबारदेखि सिम्रिकले हवाई यात्रा गराउने भएपछि पर्यटकहरुले टिकट बुकिङ गर्न थालेको श्रेष्ठले बताएका छन् ।

यस अगाडि धरान बजार परिक्रमा गराए बापत ५ हजार शुल्क लिइँदै आएको भएपनि उत्सवको अवसरमा ३ हजार ५ सयमा धरान बजार परिक्रमा गराइने धरान होलिडेजका प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिए ।

उनले हेलिकोप्टरबाट पूर्वका पाथिभरा, हलेसी मन्दिरको दर्शन गराउनुका साथै रमणीय हिमाली श्रृखलाहरुको दृष्याबलोकन समेत गराइने बताए ।

धरानका मेयर तिलक राईले आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि उपमहानगरपालिकाको अनुरोधमा सिम्रिक र धरान होलिडेजले विशेष छुटमा पर्यटकलाई हवाई यात्रा गराउने व्यवस्था गरेको बताए ।

सिम्रिक हेलिकोप्टर संचालनका लागि क्याप्टेन विमल शर्मा सापकोटासहितको प्राविधिक टोली तयारीका साथ धरान आउने सिम्रिक एयरका अप्रेसन म्यानेजर रमेशमान बर्जचार्यले बताए ।

उनले दसैं तिहारभरी हवाई सेवा प्रदान गर्ने सिम्रिक एयरको हेलिकोप्टरको आन्तरिक व्य्वस्थापनका लागि इन्जिनियर गणेशबहादुर बस्नेत नेतृत्वको प्राविधिक टोली समेत धरान आइसकेको बताए ।

प्रदेश १ कै सुन्दर सहर धरानको जग वि.स १९५७ सालदेखि बस्ती बस्न थालेको छ । धरान उपमहानगरपालिकाले प्रत्येक वर्ष पुस २० गते स्थापना दिवस मनाउँदै आएको छ ।

मंगलबार १२१औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको मेयर राईले बताए । स्थापना दिवसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here