दूध उत्पादक किसानलाई हुप्सेकाेटकाे अनुदान

नवलपरासी।  हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो ।

उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने अध्यक्ष पाण्डेको भनाइ छ । गत आव २०७८÷७९ मा दुई सहकारी संस्थामार्फत किसानलाई अनुदान उपलब्ध गराइएको छ ।  गत वर्ष किसानले रु दुई लाख ५४ हजार दुई सय ३५ प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताइन् । ‘गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले ३० हजार २६ लिटर दूधको जम्मा रु एक लाख ५० हजार एक सय ३० र साना किसान कृषि सहकारी संस्थाले २० हजार आठ सय २१ लिटर दूधको रु एक लाख चार हजार एक सय पाँच अनुदान लगेका छन्’, उनले भनिन् ।

frontline

किसानको पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसान नयादत्त गौतमले बताए। सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको उनको भनाइ छ । दूधमा अनुदान पाउनुभएका किसान जीवन लम्सालले तल्लो तहको किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए। हुप्सेकोट गाउँपालिकाले पशु बीमाअन्तर्गत कृषकले तिर्ने प्रिमियममा ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here