दुर्घटनामा घाइते सुर्खेतकी रानी रानामगरको पनि मृत्यु

श्रोत : ईन्टरनेट

२३ कार्तिक, सुर्खेत । कात्तिक १८ गते दुर्घटनामा घाइते भएकी सुर्खेतकी रानी रानामगरको पनि मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–१२ की रानाको आइतबार राति कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो।

frontline

गत साता बिहीबार छिन्चुबाट सुर्खेततर्फ तिहारको लागि किनमेल गर्न आउन लागेका रानी र उनका भाइ रविन रानामगर सवार स्कुटरलाई मिनी ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा परी रविनको घटनास्थलमै मृत्यु भएको थियो भने रानी घाइते थिइन्।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

बिहीबार दिउँसो पौने १ बजेतिर दिदी-भाइ कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटरलाई जुम्लाबाट नेपालगञ्जका लागि गइरहेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले वीरेन्द्रनगरनजिक पर्ने व्युरेनीमा ठक्कर दिएको थियो।

स्कुटर रविनले चलाएका थिए। उनकी दिदी रानी पछाडि बसेकी थिइन्।

दिदीभाइको मृत्यु भएपछि स्थानीयले छिन्चु बजार बन्द गरेका छन्। सोमबार दिउँसोदेखि सुर्खेत-नेपालगञ्ज सडक खण्ड र बजार बन्द गरेको प्रहरीले जनाएको छ।

स्थानीयले उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गरेको डिएसपी घर्तीले बताए।

उनका अनुसार दुर्घटना हुनासाथ फरार भएका चालक अहिलेसम्म पनि फरार छन्।

उनको खोजीकार्य भइरहेको डिएसपी घर्तीले बताए।

दुर्घटनामा मृत्यु भएका रविनले चार वर्षअघि नेपाली सेनामा जागिर खाएका थिए। तिहारको बिदा लिएर गत साताको बिहीबार बिहान मात्र घरमा पुगेका २६ वर्षका रविनले दिदी रानालाई पहिलोपटक तिहारको सपिङ गराउन हिँडेका थिए।

उनकी दिदी २९ वर्षीया रानीले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी थिइन्। स्थानीय एक बोर्डिङमा उनले माध्यमिक तहलाई पढाउँथिन्।

डिएसपी घर्तीका अनुसार स्कुटरलाई ठक्कर दिने उक्त ट्रक आवद्ध मध्यपश्चिम ट्रक तथा ट्याक्टर व्यवसायी संघले भने घटनाको जिम्मा लिएको छ।

उनका अनुसार समितिले कानुनबमोजिम क्षतिपूर्तिको व्यवस्था गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here