दुर्घटनामा गम्भीर घाइते युवकलाई अस्पताल नलगी घर लैजाँदा मृत्यु

१२ फागुन, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकलाई अस्पताल नलगी घर लैजाँदा मृत्यु भएको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-१२ कुँवा निवासी ३० बर्षीय सन्दीप यादवको उपचार अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

आफ्ना साथीसँग घर जाँदै गर्दा बुधबार राति उनी सवार मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि बसेका उनी गम्भीर घाइते भएका थिए ।

उनलाई अस्पताल पुर्‍याउनुपर्नेमा मोटरसाइकल चालकले घरमै लगेर राखिदिएको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए ।

‘तीन जना सवार भएको मोटरसाइकल आफैं दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका रहेछन्’ डीएसपी बस्नेतले भने, ‘अस्पताल पुर्‍याउनुपर्नेमा घरको बरण्डामा लगेर छोडिदिएका रहेछन् ।’

राति ११ बजेतिर उनलाई घरमा लगेर छाडिदिँदा घरका अन्य व्यक्ति सुतिसकेका थिए । राति १ बजेतिर घरका सदस्य उठेपछि सन्दीपलाई घाइते अवस्थामा देखेका थिए ।

त्यसपछि उनलाई बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

घाइते भएका सन्दीपलाई घरमा लगेर छाडिदिने मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here