दिल्लीमा पनि भेटिए मंकीपक्सका बिरामी
८ साउन, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा मंकीपक्सका एक बिरामी भेटिएका छन् । यससँगै भारतमा मंकीपक्सका बिरामीको संख्या चार पुगेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा भेटिएका मंकीपक्सका बिरामीको अन्तर्राष्ट्रिय ट्राभल हिस्ट्री छैन । यद्यपि उनी बिरामी हुनुअघि भारतकै हिमाचल प्रदेश भ्रमण गरेको बताइएको छ।
यस्तै दिल्लीमा देखिएको मंकीपक्सको यो पहिलो ‘केस’ भएको स्वास्थ्यकर्मीले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार पश्चिम दिल्लीका ३१ वर्षीय स्थायी बासिन्दामा उक्त संक्रमण पुष्टि भएको हो । दुई हप्तासम्म ज्वरो आएपछि ती व्यक्ति दुई दिनअघि लोक नायक हस्पतामा भर्ना भएका थिए ।
हाल उनलाई आइसोलेसनमा राखिएको अस्पतालका अधिकारीहरूले जनाएका छन् । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम नागरिकहरूलाई नडराउन आग्रह गर्दै संक्रमणको अवस्था नियन्त्रित रहेको बताएका छन् । यस्तै उनले संक्रमितका लागि छुट्टै आइसोलेसन वार्ड बनाएको पनि बताएका छन् ।
यसअघि जुलाइ १४ मा भारतको केरलामा पहिलो मंकीपक्सका बिरामी पुष्टि भएका थिए । यूएईबाट भारत फर्किएपछि ३५ वर्षीय व्यक्तिमा मंकीपक्स पुष्टि भएको थियो । यस्तै जुलाइ १८ मा केरलामै दोस्रो संक्रमित भेटिएका थिए । उनमा पनि दुबइबाट भारत फर्किएपछि संक्रमण देखिएको हो ।
शुक्रबार यूएईबाट फर्किएका भारतीयमा पनि संक्रमण पुष्टि भएको थियो । यससँगै विश्व स्वास्थ्य संगठनले शनिबार जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वका ७५ देशमा १६ हजारभन्दा बढी मंकीपक्सका बिरामी भेटिएका छन्।
प्रतिक्रिया दिनुहोस्