दश बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै पार्टी अगाडि बढाउने : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केप‍ी शर्मा ओलीले कार्यदलले तयार गरेको दश बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै पार्टी अगाडि बढाउने बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीद्वारा जारी वक्तव्यमा दश बुँदे सुझाव प्रस्तावलाई कार्यान्वयन गर्ने ठोस कार्यसूची र तालिका निर्धारण गरेको उल्लेख छ।

वक्तव्यमा भनिएको छ, ‘पार्टीभित्र विद्यमान समस्याको समाधान गर्न कार्यदलले तयार गरेको र यस अघि नै पार्टी स्थायी कमिटी तथा केन्द्रीय कमिटीले ग्रहण, अनुमोदन तथा कार्यान्वयन गर्ने निर्णय गरेको दश बुँदे सुझाव प्रस्तावलाई कार्यान्वयन गर्ने ठोस कार्यसूची र तालिका निर्धारण गरेका छौं। दश बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्दै पार्टी अगाडि बढ्ने छ।’

frontline

एमाले पार्टीभित्र उत्पन्न समस्या, कटुता र अस्वस्थताका कारण पार्टीले राजकीय भूमिका र सङ्गठनात्मक क्षेत्र दुबैमा ठूलो क्षति बेहोर्नु परेको उनको भनाई छ। ‘पार्टीभित्र लामो समयदेखि जारी समस्याहरुलाई समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन हामीले यसबीचमा अनेकौं प्रयाशहरु गर्‍यौं, पहलकदमी लियौं। कार्यदल बनायौं।’  पूर्वप्रधानमन्त्री ओलीले भने, ‘पार्टीको एकतालाई कायम राख्न र थप सुदृढ बनाउन तथा पार्टीलाई विभाजित हुन नदिन सकारात्मक योगदान गर्ने कार्यदलका सदस्यहरु एवं अन्य सबै कमरेडहरुलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’

ओलीले असोज पहिलो हप्ता हुने विधान महाधिवेशन तथा मङ्सिर दोस्रो साता आयोजना हुने राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहेको बताएका छन्। राष्ट्रिय महाधिवेशन अगाडि नै पार्टी सदस्यता नवीकरण, परिवर्तित सन्दर्भका बारेमा पार्टी पङ्क्तिलाई दिशानिर्देश गर्न राष्ट्रव्यापी अभिमुखीकरण तथा वडा एवं पालिका स्तरका अधिवेशनहरु सम्पन्न गरिसक्ने बताइएको छ। पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सङ्गठनात्मक रुपमा चुस्त, भावनात्मक रुपमा एकतावद्ध तथा साझा लक्ष्यप्रति सङ्कल्पबद्ध बनाउने उनको विश्वास छ। 

२०७७ फागुन २३ को सर्वोच्चको फैसलापछि पनि माओवादी केन्द्र पृष्ठभूमिका महत्वपूर्ण कमरेडहरु पार्टी विभाजनको विपक्षमा र एकताको पक्षमा दृढतापूर्वक उभिएको उनले बताए। ‘उहाँहरुको यस निर्णयलाई हार्दिक स्वागत गर्दै दस बुँदेमा समेत एकताको पक्षमा उभिनु भएका कमरेडहरुको निर्णयलाई स्वागत गर्ने र उहाँहरुको पूर्ववत जिम्मेवारी कायम राख्ने प्रस्ताव गरिएको छ।’जारी वक्तव्यमा भनिएको छ, ‘दस बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने क्रममा आजको नेकपा (एमाले) नेकपाकै निरन्तरताको रुपमा रहेको, यसले नेकपाको बिरासत आत्मसात गरेको र पार्टी निर्माण, विस्तार र एकीकरण पार्टीको विशेषता र संस्कृति रहेको कुरालाई आत्मसात गर्दै रचनात्मक दृष्टिकोण अवलम्बन गरिने छ।’

बलियो, एकताबद्ध तथा सुदृढ नेकपा (एमाले) पार्टी पङ्क्तिको मात्र होइन, राजनीतिक स्थायित्व, लोकतन्त्र र अग्रगमनका पक्षधर आम जनताको समेत चाहना भएको वक्तव्यमा उल्लेख छ। अध्यक्ष ओलीले नेता कार्यकर्तालाई पार्टीको मूलघरमा फर्किन स्थायी कमिटीले औपचारिक आह्वान गरेको जनाएका छन्। उनले विगतका कुनै क्रियाकलाप, गतिविधिलाई लिएर कुनै पूर्वाग्रह, विभेद र कारवाहीसमेत नहुने धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here