त्रिवि र आन्दोलनरत विद्यार्थीबीच सहमति भएसंगै खुल्यो तालाबन्दी
१९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत विद्यार्थीबीच सहमति भएसंगै तालाबन्दी खुलेको छ । त्रिभुवन विश्वविद्यालयले आन्तरीक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यार्थीहरु तालाबन्दी खोल्न सहमत भएका हुन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, अखिल क्रान्तिकारी र त्रिभुवन विश्वविद्यालयबीच सहमति भएको समाजवादी निकट अखिलका केन्द्रीय स्थायी कमिटी सदस्य टीकाराम भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘सहमति भएसंगै तालाबन्दी खुलेको छ । सहमति कार्यान्वयनको हामीले माग गरेका छौं ।’
यसअघि त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पशुपति अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय सभाले गत मंसिर १४ मा विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापकमा नियुक्तिको निर्णय गरेसंगै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।
त्रिभुवन विश्वविद्यालय सभाद्धारा विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्न गरिएको निर्णयको सम्पूर्ण प्रकृया हाललाई कार्यान्वयन नगर्ने सहमति भएको छ ।
विद्यार्थीहरुले निर्णय सच्च्याउनुपर्ने माग राख्दै उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा तालबन्दी गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयमा रहेका रीक्त दरबन्दीहरु समावेशी सिद्धान्तको आधारमा ६/६ महिनामा खुला विज्ञापन गरी शिक्षक, कर्मचारी नियुक्ति गर्ने सहमतिपत्रमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्