त्रियुगा नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काउन सुरु
१७ भदौ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काउन सुरु गरेको छ। नगरपालिकाको इजाजत बिना सडक अतिक्रमण गरी बनाइएको सदरमुकाम गाईघाट आसपासका क्षेत्रका सबै घरटहरा डोजर लगाएर भत्काउन सुरु गरिएको हो।
सडक छेउमा बनेका अबैध घर टहराका संरचना र फुटपाथले दुर्घटना बढ्दै गएको र नगरपालिकासमेत कुरुप बन्दै गएपछि हटाउने कार्य सुरु गरिएको मेयर बसन्तकुमार बस्नेतले बताए। बजार आसपासका क्षेत्र साँघुरो र अत्याधिक भीडभाडले अस्तव्यस्त बन्न थालेपछि डोजर लिएर निस्कन बाध्य भएको उनले बताए।
उनले भने, ‘अतिक्रमण गरी बनाइएका टहरा र फुटपाथका पसल उठाउन पटक–पटक आग्रह गर्यौं। सुनवाई नभएपछि डोजर निकाल्न बाध्य भयौं।’ पैदल यात्री हिँड्ने बाटोलाईसमेत अवरोध गर्ने र बजारको सौन्दर्यतालाई बिगार्ने गरी बनाइएका सबै टहरा र व्यवसायलाई हटाइने मेयर बस्नेतले बताए।
‘हामीले यसअघि नै सूचना निकालेर हटाउन जानकारी दिएका छौं, बजारलाई व्यस्थित गर्ने हामी सबैको दायित्व र कर्तव्य हो,’ उनले भने, ‘बजारको सौन्दर्य बिगार्ने कसैलाई छुट छैन र तोकिएकै ठाउँमा व्यवसाय संचालन गरिनु पर्छ।’ उनले बजारको सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन पनि फुटपाथको पसल र अनधिकृत टहरा हटाउनु पर्ने बताए।
नगरपालिकाले पहिलो चरणमा सदरमुकाम रहेको वडा नं ११ मा भत्काउन सुरु गरेको हो। ११ नम्बरका वडाअध्यक्ष सुमन्त कोईरालाले फुटपाथ पसललाई व्यवस्थित गर्न विकल्प दिँदासमेत व्यापारीले अटेर गरेपछि भत्काउन सुरु गरिएको बताए।
उनले भने, ‘नगरपालिकाले बजार व्यवस्था गर्न लाखौँ रुपैँया खर्च गरेर टहरा बनाएको छ, त्यहाँ कोही नजाने मुख्य चौक नै सबैलाई चाहिने त्यसैले हटाएका हौं।’
उनले सफा र स्वच्छ शहर सँगै दुर्घटना न्युनीकरण गर्न यस कार्यले ठुलो भुमिका खेल्ने बताए। त्रियुगा नगरपालिका र त्रियुगा उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा त्यस्ता फुटपाथका पसल हटाउने कार्य सुरु गरिएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले बताए।
प्रतिक्रिया दिनुहोस्