त्रिनेत्रेश्वर धामलाई धार्मिक पर्यटन केन्द्र बनाउँदै बर्दघाट
नवलपरासी बर्दघाट नगरपालिकाको वड–७ जिमिरेभारस्थित त्रिनेत्रेश्वर धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
त्रिनेत्रेश्वर धाममा श्रद्धालु भक्तजनलाई आउजाउ सहज बनाउन पूर्वाधार निर्माणमा सहयोग गरेको हो । त्रिनेत्रधाम अध्यात्म चिन्तन केन्द्रको पहलमा ०६९ मा स्थापित भएको हो ।
केन्द्रका केन्द्रीय अध्यक्ष नवराज श्रेष्ठले सुरुमा यस क्षेत्र पुग्न निकै अप्ठेरो भएपनि अहिले केही काम भएका कारण सहज भएको बताउछन् । नगरपालिका र स्थानीयको सहयोगले यहाँ आन्तरिक धार्मिक पर्यटनको विकास भइरहेको छ । अब गुठी बनाउने तयारीमा रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।
त्रिनेत्रेश्वरधाममा दैनिक पूजाआजा हुने गर्दछ । शिवरात्रि र साउनाभर धाममा घुइँचो लाग्ने गर्छ । धाम परिसरमा १५ कोठे ज्येष्ठ नागरिक आश्रम निर्माण हुँदै छ । भवनको एकतला पूरा भइसकेको छ । आश्रमका लागि बर्दघाट नगरपालिकाको समन्वय र सहयोग गरेको श्रेष्ठले जानकारी दिए ।
धाममा ज्येष्ठ नागरिक आश्रम बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ प्राप्त भएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए । धामको विकासमा ध्यान दिइरहेका र नगरले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरिरहेको नगरप्रमुख बस्यालले बताए ।
धार्मिक ऐतिहासिक एंव सांस्कृतिक क्षेत्रको विकासमा नगरपालिका लागिपरेको नगर प्रमुख बस्याल दाबी गर्छन् । धाम जाने बाटोघाटो नगरपालिकाले बनाएको कारण सहज हुँदै गएको उनको भनाइ छ ।
संघीय मन्त्रालयबाट प्राप्त रकमको थप १० प्रतिशत नगरपालिकाले लगानी गर्ने नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताए । उनले नगरपालिकाको २ लाख ५० हजार लगानी त्यहाँ थप हुने र यस्तो सहयोग रकम अहिलेसम्म साढे २७ लाख ५० हजार पुगेको जानकारी दिए ।
पछिल्लो समय धाममा जाने आन्तरिक धार्मिक पर्यटक पनि बढेका छन् । कोरोनाको कारण केही असहज भए पनि यसको पूर्वाधार निर्माणलाई गति दिएको बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका लेखनाथ न्यौपाने बताउछन् । भवनको तल्लो तलामा ज्येष्ठ नागरिक दिवा सेवा सञ्चालन भइरहेको जानकारी दिए ।
धाममा बिहान योग शिविर सञ्चालन हुन्छ । ज्येष्ठ नागरिक बेलाबेला धार्मिक, सांस्कृतिक कार्यक्रम गर्ने गरेका छन् । तर, कोरोनाको कारण अहिले भने यस्ता कार्यक्रम बन्द गरिएको न्यौपाने बताउँछन् । धाममा पुजारीसहित दुई जनाको दरबन्दी छ ।
बर्दघाट–७ का वडाध्यक्ष धु्रव थारु धामप्रति युवा पुस्ताको आर्कषण बढाउन कार्यक्रम ल्याउनुपर्नेमा जोड दिन्छन् । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको पहलमा बर्दघाट–१४ को चौपत्तामा रामजानकी धामभित्र वैष्णोदेवी मन्दिर बनेको छ ।
नगरभित्र विभिन्न धर्म तथा समुदायको आस्थाका केन्द्र तथा धार्मिक पर्यटकीय क्षेत्र छन् । यी सबैको समविकासका लागि एकीकृत गुरुयोजना आवश्यक रहेको थारुको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्