तीन दिनमा बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने १५४ मा कोरोना संक्रमण पुष्टि

२३ पुस, बुटवल । पछिल्लो तीन दिनमा रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनमा १ हजार १२ जनाको एन्टिजेन परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिए ।

frontline

ढकालका अनुसार मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्ला दिनहरुमा संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखा पर्न थालेको उनको भनाइ छ ।

बेलहिया नाकामा भएको एन्टिजेन परीक्षणमा पछिल्लो चार दिनमा संक्रमितहरुको संख्या लगातार बढ्दै गएको उनले बताए ।

भारततर्फबाट लामो दुरीबाट आएका, भारतमा बास बसेकाको अनिवार्य एन्टिजेन परीक्षण गर्ने गरिएको ढकालले बताए ।

तर सुनौली, नौतनवा लगायतका स्थानमा किनमेल गर्न जाने नेपालीहरुको भने एन्टिजेन परीक्षण गर्ने गरिएको छैन । भारतका नयांदिल्ली, कोलकत्ता, बनारस लगायतका क्षेत्रबाट आएका नेपालीहरुमा संक्रमण देखिएको छ ।

संक्रमण दर बढेसंगै भारतबाट आउनेहरुको एन्टिजेन परीक्षण गर्न सीमा नाकामा हेल्थ डेस्कका लागि स्थान सांघुरो हुंदा परीक्षणमा समस्या भएको ढकालले बताए ।

एन्टिजेट परीक्षणमा सिद्धार्थनगर नगरपालिका, रेडक्रस लगायतका संस्थाले पनि जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहकार्य गरेका छन् । अहिले नाकामा एन्टिजेन परीक्षणका लागि जनशक्ति पर्याप्त रहेको ढकालले बताए ।

बिहान ६ बजेबाटै शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको उनले बताए ।

चेकजाँच प्रभावकारी बनाउन माग

यसअघि पनि नेपालमा भारतबाट आउने व्यक्तिबाटै कोरोना संक्रमण फैलिएको भन्दै उद्योगी व्यवसायीले सीमा नाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेका छन् ।

मुख्य भन्सार नाका वाहेक अन्य नाका र खुला सीमामा कडाई गर्न पनि व्यवसायीले माग गरेका छन् ।

उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले कोरोना महामारीका कारण २ वर्षसम्म व्यवसाय थला परेको भन्दै फेरि पनि नाकामा लापरबाही भए संक्रमण फैलिने र लकडाउन भए व्यवसाय धराशायी हुने बताए ।

‘सरकारी निकाय संवेदनशील बन्न आवश्यक छ’–उनले भने–‘ भारतबाट भित्रिने संक्रमणलाई रोक्न नसक्ने हो भने त्यसको असर अर्थतन्त्रमा पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here