तीन जनाको टाउकोमा प्रहार, शरीरका विभिन्न भागमा धारिलो वस्तुले घोपेर तथा एकको झुण्डिएर मृत्यु

 २० साउन, काठमाडौं । परिवारै सखाप हुने गरी भएको तारकेश्वर नगरपालिकाको काभ्रेस्थली घटनामा तीन जनाको टाउकोमा बोधो वस्तुले प्रहार, शरीरका विभिन्न भागमा धारिलो वस्तुले घोपेर तथा एक जनाको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

भीमसेनथापा गाउँपालिका–६ गोरखा स्थायी घर भई काठमाडौंको तारकेश्वर नगरपालिका २, पदमसालमा बस्दै आएका एकै परिवारका चार जना ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीय सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिक साउन १६ गते बिहान घरमै मृत फेला परेका थिए । त्यसपछि प्रहरीले शव र घटनाको मुचुल्का उठाएर पोस्टमार्टमका लागि चारै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको थियो ।

frontline

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने उल्लेख गरिएको थियो । शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टले पनि तीन जनाको हत्या गरेर दिनेशले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने देखाउँछ । पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार दिनेशको मृत्यु ‘हृयांगिङ’बाट भएको देखिन्छ । ती चिकित्सकले सुनिता, आशिका र आशिकको मृत्युको कारण टाउकोमा बोधो वस्तुले हानेर अनि शरीरका विभिन्न भागमा धारिलो वस्तु घोपेर भएको देखिन्छ ।

‘सुनिता, आशिका र आशिकको मृत्यु शरीरका विभिन्न भागमा ‘मल्टिपल स्ट्याविङ’ (विभिन्न भागमा घोपेर) र टाउकोमा ‘ब्लन्ट हन्ट’ (बोधो वस्तुले प्रहार) बाट भएको देखिन्छ,’ पोस्टमार्टममा संलग्न एक चिकित्सकले भने, ‘दिनेशको देब्रे हात र पेटमा चोट लागेको तथा घाँटीमा डोरीले बेरिएरको देखिन्छ । यसलाई हामीले ‘पार्सियल हृयांगिङ’बाट डेथ भएको उल्लेख गरेका छौं ।’

पोस्टमार्टम रिपोर्टलाई आधार मानेर घटनाको विश्लेषण गर्दा दिनेशले श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिकको पहिला हत्या गरेर उनले आत्महत्या गरेको देखिन्छ । पोस्टमार्टम रिपोर्टमा तीन जानमाथि छाती र पेटसहित शरीरका भित्रि भागसम्म धारिलो वस्तुले घोपेको चोट देखिन्छ । त्यस्तै टाउकोमा बोधो वस्तुले प्रहार (ब्लन्ट हन्ट) गरिएको देखिएको छ ।

पोस्टमार्टममा संलग्न चिकित्सक र अनुसन्धानमा खटिएका प्रहरी अधिकारी दिनेशले तीन जनालाई बेहोस बनाउन पहिले टाउकोमा हानेर त्यसपछि धारिलो वस्तुले घोपेको हुन सक्ने बताउँछन् । उनका अनुसार परिवारका सदस्यको हत्या गरेर विछिप्त बनेपछि आफ्नै शरीरका विभिन्न भागमा धारिलो वस्तु प्रहार गरेको र त्यसको पीडा खप्न नसकेर घाँटीमा डोरीले बेरेर मृत्यु रोजेको हुनसक्ने देखिन्छ ।

शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले घटना विश्लेषण, प्रकृति, स्थलगत अवलोकन र पोस्टमार्टम रिपोर्ट केलाउँदा दिनेशले तीन जनाको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने बताए । ‘पोस्टमार्टम रिपोर्टको नतिजा अनि घटनाको स्थलगत अवलोकन/विश्लेषण गर्दा घटना दिनेशबाटै भएको हुनसक्ने देखिन्छ, हामीले रिपोर्ट प्रहरीलाई पठाइसकेका छौं, यस बारेको बाँकी विषय प्रहरीबाटै आउला ।’ प्रहरीले घटनास्थलमा फेला पारेको मृतक दिनेशको सुसाइड नोटमा पनि ‘श्रीमती र छोरा/छोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख छ ।

१२ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र उनकी श्रीमती सुनिताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न विवाद हत्याको रुपमा पुगेको प्रहरीले जनाएको छ ।

सुसाइड नोटमा दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइतीपक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीमा थुनाएको लगायत विषय उल्लेख गरेका छन् । सुसाइड नोटमा दिनेशले छोराछोरीलाई एक्लै राख्न नसकेर सँगै लग्नु (मार्नु) परेको उल्लेख गरेका छन् ।

दिनेश र सुनिताबीचको पारिवारिक विवाद प्रहरीसम्मै पुग्ने गरेको र मिलापत्र टुंगिने गरेको देखिएको छ । तर, यस पटक श्रीमती र सन्तानको हत्या गरेर उनले आत्महत्या गर्न बाध्य भएको सुसाइड नोटमै खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन तारकेश्वर

poster-here