तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाऔँ

१७ कात्तिक, काठमाडौं : तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भने, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटीका कारण हुने घटना हो । त्यसैले आफ्नो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नु उत्तम उपाय हो ।”

frontline

काठमाडौंँलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने जानकारी उनले दिए । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती र माटाका पालामा बाल्ने दियो सम्झन्छौँ श्रेष्ठले भने, “यस प्रकारका सामानको प्रयोग गर्दा सावधानी अपनाउन सकेनौँ भने आगलागीको समस्या आउन सक्छ । आगलागीको अर्को कारण भनेको यस विषयमा मानिसमा चेतनाको कमी समेत हो ।”

तिहारमा ‘धनकी देवी’ लक्ष्मी भित्र्याउने धार्मिक विश्वाससँगै घरमा दियो तथा झिलिमिली बत्ती बाल्ने चलन छ तर चाडपर्वका बेला यस्ता सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेको श्रेष्ठले बताए । उनका अनुसार तिहारमा घरको प्रायः सबैतिर दियो बाल्ने परम्परा छ ।

कहिलेकाहीँ सडक जामका कारण दमकल आउन ढिला हुनसक्छ त्यस्तो अवस्थामा आफूले केही सावधानीको उपाय अपनाउन सकिने श्रेष्ठको भनाइ छ । बिजुलीबाट भएको आगलागीमा पानीबाट निभाउनु झन् खतरा हुन्छ, उनले भने, “यसका लागि हामीले बालुवा वा माटोको सहायताबाट आगो निभाउन सक्छौँ ।

यसैगरी दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ भने घरमा आवश्यकभन्दा बढी विद्युतीय सामग्री एकैपटक बाल्नसमेत हुँदैन । सकेसम्म एकसाथ सबै विद्युतीय सामग्रीको प्रयोग नगर्न सुझाव दिए। तिहारमा विभिन्न परिकार बनाउने गरिन्छ, त्यसैले तेलको कराहीमा आगो बलेमा पानी हाल्नु हुँदैन । पानी राख्दा आगो झन् बल्छ ।

कुनै सामग्रीले कराहीलाई ढाक्नुपर्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभ्छ । तेल पोखिएर वा उछिटिएर शरीरमा आगो लागेमा डराएर दौड्नु हुँदैन । दौड्दा अक्सिजन धेरै प्राप्त हुनाले आगो झन् बल्ने सम्भावना हुन्छ । त्यसैले यथास्थानमा नै उभिनुपर्छ । सकेसम्म बाक्लो कपडा वा बोराले शरीर छोपिदिनुपर्छ । भुइँमा पल्टनु उचित हुन्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभाउन सकिन्छ ।

जुद्ध वारुणयन्त्रको तथ्याङ्कअनुसार महानगरपालिकाभित्र मात्रै २०७५ मा आठवटा आगलागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here