तरुण दलमा खुकुरी प्रहार घटना: ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध जाहेरी दर्ता

समाचार सारांश

  • लमजुङमा तरुण दलको अधिवेशनमा भएको झडपमा संलग्न विरुद्ध जाहेरी दर्ता गरिएको छ, जसमा चार जनाको नाम उल्लेख छ।
  • अधिवेशनमा खुकुरी प्रहारबाट चार जना घाइते भएपछि, दुई जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।
  • अधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद भएको थियो र अधिवेशन १० गतेसम्मका लागि स्थगित गरिएको छ।

पोखरा । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा भएको घटनामा संलग्न विरुद्ध जाहेरी दर्ता भएको छ ।

 ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको भन्दै ४ जना विरुद्ध जाहेरी परेको थियो । प्रहरीले यसबारे आनाकानी गर्दै आएकामा हाल आएर जाहेरी दर्ता गरेको हो । 

frontline

घटनामा संलग्नहरू उपर जाहेरी परेको र दर्ता भैसकेको लमजुङ प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए । ‘जाहेरी दर्ता भएको छ । तर कोहीपनि पक्राउ परेका छैनन्,’ उनले बुधवार भने, ‘खोजी भइरहेको छ । जाहेरी परेपछि मुद्दाको रूपमा अघि बढ्छ ।’

पीडितका तर्फबाट परेको जाहेरीका आधारमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता भएको लमजुङ प्रहरीले जनाएको छ । 

घटनामा खुकुरी प्रहारबाट ४ जना घाइते भएका थिए । घटनामा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा घाइते भएका हुन् । 

घाइतेमध्ये खुसीजंग र सुदीपलाई थप उपचारका लागि चितवन रिफर गरिएको थियो । अधिवेशनमा प्रतिनिधि छनोटबाटै एउटा पक्षलाई रोक्ने प्रयास गरिएको भन्दै संस्थापन इतर पक्षले कार्यक्रमस्थलमा नाराबाजी गरेका थिए । नाराबाजी चलेपछि संस्थापन पक्षले खुकुरी प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । 

लमजुङमा प्रदेशका दुईजना मन्त्रीबीच टकराव छ । जिल्ला सभापति तथा आर्थिक मामिला मन्त्री टकराज गुरुङ र निवर्तमान सभापति तथा वन मन्त्री भेषबहादुर पौडेलले लामो समयदेखि गुटको रूपमा पार्टीलाई विभाजन गरेका छन् । घटनापछि अधिवेसन १० गतेसम्मका लागि स्थगित गरिएको छ । 

तरुण दलको तल्लो समितिमा निर्वाचन हुँदादेखि नै विवाद चुलिँदै आएको थियो । क्होंलासोंथरको अधिवेशनमा माइन्युट च्यात्नेदेखि महोत्सवमा एक पक्षले अर्को पक्षलाई कुट्नेसम्मका गतिविधि भएको लमजुङ काँग्रेसका एक नेताले बताए ।

 ‘भित्रभित्रै पाकिरहेको थियो । शनिबारको घटना पोखिएको मात्रै हो,’ उनले भने ।

तरुण दल |खुकुरी प्रहार |झडप |लमजुङ

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here