डडेल्धुराबाट देउवासँग फोन कूटनीति : ओली र प्रचण्डका तीन समानता
समाचार सारांश
- नेपाली कांग्रेसले पटक-पटक सत्ता साझेदार दलको भूमिका निर्वाह गर्दै आएको छ। यसैबिच, प्रचण्डले देउवालाई डडेल्धुरा पुगेर फोन गरेका छन्।
- प्रचण्डको फोन वार्तालाई राजनीतिक वृत्तमा केपी ओलीको जस्तै गठबन्धन निर्माणको प्रयासको रूपमा हेरिएको छ, तर यसलाई राजनीतिक संस्कारको रूपमा पनि लिइन्छ।
काठमाडौँ । २०७९ को निर्वाचनपछि प्रतिनिधि सभाको ठुलो दल नेपाली कांग्रेस पटक–पटक सत्ता साझेदार दलको भूमिकामा छ । यसबिचमा कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पालैपालो प्रधानमन्त्रीका रूपमा समर्थन जनाएको छ ।
गत वर्ष असार १७ गते नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको सहमति अनुसार अब १४ महिनापछि कांग्रेसले सरकारको नेतृत्व गर्न पाउने छ ।
यद्यपि, प्रमुख तीन दलबिच गठबन्धन केन्द्रित विभिन्न गतिविधि भइरहेका छन् । माओवादी केन्द्रकै नेताहरू अहिलेको गठबन्धन आफ्नै भारले ढल्ने दाबी गरिरहेका छन् ।
यिनै आशङ्काका बिच शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवालाई डडेल्धुरा पुगेर फोन गरेका छन् । डडेल्धुरा देउवाको गृहजिल्ला हो ।
यसअघि २०८० मंसिर १५ गते नेकपा एमालेका अध्यक्ष ओलीले पनि डडेल्धुरा पुगेर काठमाडौँमा रहेका देउवालाई फोन गरेका थिए । ओलीकै सोही ‘फोन कूटनीति’ अनुसार नै प्रचण्डले शुक्रबार देउवासँग वार्ता गरेका हुन् ।
डडेल्धुरा पुगेर देउवालाई फोन गर्दा ओली र प्रचण्डमा मुख्य रूपमा तीन समानता देखिएको छ । २०८० मंसिर १५ मा ओलीले डडेल्धुराबाट देउवालाई फोन गरेको दिन शुक्रबार थियो । प्रचण्डले पनि शुक्रबार (आज) नै फोन गरेका हुन् ।
अर्को समानता भनेको दुवै नेता आफ्नो पार्टीको राजनीतिक अभियान लिएर डडेल्धुरा पुगेको समयमा देउवालाई फोन गर्नु हो । ओली एमालेको राजनीतिक अभियान ‘झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राका क्रममा डडेल्धुरा पुग्दा देउवालाई फोन गरेका थिए । प्रचण्ड पनि आफ्नो पार्टीको राजनीतिक अभियान लिएर डडेल्धुरा पुगेको मौकामा देउवासँग फोनवार्ता गरे । प्रचण्ड आजबाट सुरु हुने ‘मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान’ का क्रममा डडेल्धुरा पुगेका हुन् ।
तेस्रो संयोग भनेको दुवै नेताले आफू प्रमुख प्रतिपक्षी दलको नेता रहँदा सत्ताको प्रमुख साझेदार दलको नेता (देउवा)का हैसियतमा रहेका देउवासँग वार्ता गरेका हुन् । २०८० मंसिर १५ गते ओलीले डडेल्धुराबाट देउवालाई फोन गर्दा ओली प्रमुख प्रतिपक्षी दलको नेता थिए । प्रचण्ड पनि अहिले प्रमुख प्रतिपक्षी दलको नेताकै रूपमा छन् ।
ओलीले डडेल्धुरा पुगेर देउवालाई फोन गरेको सात महिनापछि ओली–देउवाबिच निर्णायक छलफल भई दुई ठुला दलबिचको गठबन्धन निर्माण भयो । कतै प्रचण्डले पनि यस्तै राजनीतिक उपलब्धिका लागि ‘फोन कूटनीति’ अघि सारेका त होइनन् भन्ने आशङ्का राजनीतिक वृत्तमा स्वाभाविक रूपमा उब्जिएको छ । यद्यपि, एउटा प्रमुख दलको शीर्ष नेतालाई उनकै गृह जिल्ला पुगेको बेलामा सम्झिनु र फोन वार्ता गर्नुलाई ‘राजनीतिक संस्कार’का रूपमा लिन सकिन्छ ।






प्रतिक्रिया दिनुहोस्