ट्रम्पले भन्सार दर बढाउँदा एप्पललाई सबा खर्ब रुपैयाँ नोक्सान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विभिन्न मुलुकमाथि अमेरिकामा वस्तु तथा सेवा निर्यातमा लगाएको उच्च भन्सार दरले अमेरिकी कम्पनी एप्पललाई अर्बौं डलर घाटा लागेको छ ।

एप्पलका सीईओ टिम कुकका अुनसार ट्रम्प प्रशासनले लागू गरेको उच्च भन्सारदरका कारण यो त्रैमासिकमा एप्पललाई ९० करोड डलर नोक्सान हुने आँकलन गरिएको छ ।

frontline

साथै उनले अमेरिकामा बिक्री हुने आइफोनको उत्पादनस्थल चीनबाट भारतमा सार्ने काम भइरहेको पनि खुलासा गरेका छन् ।

विद्यमान विश्वव्यापी भन्सार दरलाई मध्यनजर गर्दा अहिलेकै नीति कार्यान्वयन भएको तथा भन्सारदरमा अतिरिक्त बढोत्तरी नभएको अवस्थामा त्यसले कम्पनीलाई ९० करोड डलर नोक्सान हुने उन कुकको भनाइ छ ।

कम्पनीको त्रैमासिक आय विवरण प्रस्तुत गर्ने क्रममा कुकले अब अमेरिकामा बिक्री हुने फोनमध्ये धेरैजसोको उत्पादन चीनबाट भारतमा सर्ने बताए ।

भारतले पछिल्ला केही वर्षयता आइफोन उत्पादन कारखाना भारतमा सारिरहेको छ । एप्पलले आफ्नो विश्वव्यापी आपूर्ति प्रणालीलाई विविधिकरण गर्दै चीन बाहिर सार्ने प्रयास गरिरहेको अवस्थामा कुकको यस्तो घोषणा बाहिर आएको हो ।

चीनमाथि ट्रम्पले १४५ प्रतिशतको भन्सार दर लगाएपछि चिनियाँ कारखानामा उत्पादन भएका आइफोनहरू अमेरिकामा लगेर बिक्री गर्दा निकै महँगो पर्नु स्वभाविक छ । यद्यपि ट्रम्प प्रशासनले स्मार्टफोन तथा सेमिकन्डक्टर भएका विद्युतीय उपकरणमा चाहिँ त्यस्तो भन्सार दर तत्कालका लागि स्थगत गरेकोले एप्पललाई केही राहत मिलेको छ । तथापि चीनबाट अमेरिकामा निर्यात हुने हरेक उत्पादनमा न्यूनतम २० प्रतिशत भन्सार दर चाहिँ लाग्ने गरेको छ ।

एप्पलले उत्पादन गर्ने आइफोनमध्ये ९० प्रतिशत अहिले पनि चीनमै उत्पादन हुने गरेका छन् ।

अमेरिकामा बिक्री हुने आइफोनको उत्पादन भारतमा गरिने भएपनि अन्य बजारका लागि चीनमा उत्पादित आइफोन नै उपलब्ध हुनेछन् । त्यस्तै अमेरिकामा बिक्री हुने आइप्याड, म्याक, एप्पल वाच तथा एयरपोड्स चाहिँ भियतनाममै उत्पादन हुने कुकले बताए ।

यस्तो छ एप्पलको वित्तीय अवस्था

कुकले सार्वजनिक गरेको कम्पनीको त्रैमासिक वित्तीय विवरण अनुसार जनवरीदेखि मार्च सम्मको अवधिमा कम्पनीको वित्तीय प्रगति सन्तोषजनक छ ।

सन् २०२५ को सुरुको तीन महिनाको अवधिमा कम्पनीको आम्दानीमा ५ प्रतिशतले वृद्धि भएर ९५ अर्ब ४० करोड पुगेको छ । जसमध्ये आइफोन बिक्रीबाट प्राप्त आम्दानी ४६ अर्ब ८० करोड रहेको छ ।

तर चीन, हङकङ तथा ताइबानमा चाहिँ एप्पलका प्रडक्टको बिक्रीमा अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा २ प्रतिशतले गिरावट आएर १६ अर्ब डलरमा झरेको छ ।

भन्सार दर वृद्धिका बाबजुत आपूर्ति श्रृंखला तथा उत्पादनलाई व्यवस्थित गरेकोले पहिलो त्रैमासिक त्यसको असर अपेक्षाकृत रुपमा कम परेको कुकको दाबी छ ।

एप्पल |डोनाल्ड ट्रम्प |भन्सार दर

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here