ट्रम्पले बढाए भन्सार शुल्क वृद्धिको समयावधि, १४ देशमा लागू, कहाँ कति ?

News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ जुलाईबाट १ अगस्टसम्म भन्सार शुल्क बढाउने म्याद थपेका छन्।
  • उनले १४ देशमा भन्सार शुल्क वृद्धि घोषणा गरेका छन् र चीनले विरोध जनाएको छ।
  • अमेरिकाले ९० देशसँग व्यापार सम्झौता गर्न तयार रहेको अर्थमन्त्री स्कट बेसेन्टले बताएका छन्।

frontline

२४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वव्यापी भन्सार शुल्क बढाउने म्याद ९ जुलाईबाट बढाएर १ अगस्ट कायम गरेका छन्।

उनले १४ देशमा भन्सार शुल्क बढाउने घोषणा पनि गरेका छन् । भन्सार शुल्क वृद्धि भएका देशहरूमा जापान र दक्षिण कोरिया पनि रहेका छन् ।

अमेरिकले मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, म्यानमार, लाओस, थाईल्यान्ड, बंगलादेश, इन्डोनेसिया, ट्युनिसिया, बोस्निया एण्ड हर्जेगोभिना, सर्बिया र कम्बोडियामा पनि भन्सार शुल्क बढाएको छ।

ट्रम्पले ती सबै देशहरूलाई औपचारिक पत्र पठाएर भन्सार शुल्क बढाउनेबारे जानकारी दिएका छन्।

अमेरिकाले म्यानमार र लाओसबाट निर्यात हुने सामानमा सबैभन्दा धेरै ४० प्रतिशत भन्सार शुल्क लगाएको छ।

त्यस्तै, थाईल्यान्ड र कम्बोडियाबाट आउने सामानमा ३६ प्रतिशत, बंगलादेश र सर्बियामा ३५ प्रतिशत, इन्डोनेसियामा ३२ प्रतिशत र दक्षिण अफ्रिका तथा बोस्निया एण्ड हर्जेगोभिनामा ३० प्रतिशत भन्सार शुल्क लाग्नेछ ।

ट्रम्पले जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान र ट्युनिसियामा २५–२५ प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

ट्रम्पले सबैभन्दा पहिले जापानका प्रधानमन्त्री शिगेरु इसिबा र दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्याङलाई पत्र पठाएका थिए। त्यसपछि उनले बाँकी देशहरूलाई पनि यस्तै पत्र पठाइने जानकारी गराएका थिए।

चीनले भन्यो : धम्की नदिनुस्

ट्रम्पको भन्सार वृद्धि चेतावनीको ब्रिक्स राष्ट्र चीनले कडा विरोध गरेको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, ‘ब्रिक्स अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा एक सकारात्मक संगठन हो।’

निङले थपिन्, ‘चीन कुनै पनि प्रकारको भन्सार शुल्क वा व्यापार युद्धको विरोध गर्छ।

भन्सार शुल्क लगाउने नाममा धम्क्याउने वा अनावश्यक दबाब दिने जुनसुकै प्रयासको पनि विरोध गरिनेछ।

९० देश व्यापार सम्झौता गर्दै अमेरिका

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ९० देश अमेरिकसँग व्यापार सम्झौता गर्न तयार रहेका दाबी गरेका छन् ।

उनले भने, ‘सम्झौताको प्रस्तावहरूले ह्वाइट हाउसको मेल इनबक्स भरिएको छ।’

उनका अनुसार सबै देश चाँडै सम्झौता गर्न तयार छन् ।

‘१० अप्रिलमा भन्सार शुल्क रोकेर हामीले ९० दिनभित्र ९० देशसँग सम्झौता गर्ने लक्ष्य पूरा गरेका छौं’, उनले भने, ‘अधिकांश देश अमेरिकका सर्तहरू मान्न तयार छन्।’

बेसेन्टका अनुसार, अमेरिका व्यापार स्वस्थ र निष्पक्ष होस् भन्ने चाहन्छ ।

उनले कुनै पनि देशसँग व्यापार सम्झौताको ढोका कहिल्यै बन्द हुन नहुने बताए ।

डोनाल्ड ट्रम्प

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here