टोखामा बरामद २५ करोडको ‘नेक्सस’ सुन कारोबारीसँग

चालक भन्छन्- सामाखुसीमा चिनियाँले दिए

टोखाबाट मध्यराति पक्राउ परेका ट्रक चालकले ‘चिनियाँ नागरिकले सामाखुसीमा उक्त रकम आफूलाई दिएको’ बताएका छन्, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यसको ‘नेक्सस’ सुन कारोबारीसँग जोडिएको आशंका गरिएको छ ।

५ चैत, काठमाडौं । गएराति काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरका डलरको ‘नेक्सस’ सुन कारोबारसँग जोडिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

frontline

सोमबार राति २५ करोड बराबरका डलर बरामद भएपछि यसको रुट र पुग्ने गन्तव्य, डलरसँगै पक्राउ परेका व्यक्तिको पृष्ठभूमि र पक्राउ परेकाको बयानलाई आधार बनाउँदै प्रहरीले २५ करोडको ‘नेक्सस’ सुनसँग जोडेको हो । रसुवाको केरुङ नाका हुँदै सीमापार गरेर अवैध रकम चीन पुग्ने र उताबाट सुन खरिद गेरर ल्याउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेत पनि यो रकमको साइनो सुन खरिदसँग जोडिएको हुनसक्ने आशंका गर्छन् । ‘अहिलेसम्मको हाम्रो अनुसन्धानले यो डलर सुन खरिदका लागि चीन जाँदै थियो भन्ने देखाएको छ । थप अनुसन्धान हुन बाँकी नै छ,’ एसएसपी बस्नेतले अनलाइखबरसँग भने ।

प्रहरीले भनेजस्तै डलर बोकेर केरुङतर्फ जाने व्यक्ति यसअघि ७ किलो सुनसहित पक्राउ परेका थिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई यसअघि अपराध अनुसन्धान कार्यालयकै टोलीले १३ पुस २०७३ मा कलंकीबाट पक्राउ गरेको थियो । त्यतिबेला अपराध अनुसन्धान कार्यालयका एसएसपी सर्वेन्द्र खनाल थिए ।

उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरिएको थियो ।

गाडीको अगाडि भागमा रहेको एयरफिल्टरको बक्सभित्र लुकाएर ल्याइएको सातवटा एक–एक किलोका सुनका लाप्सा भेटिएको थियो । त्यतिबेला पनि उक्त गाडीका चालक लामा नै थिए । अहिले फेरि उनै लामा गाडीमै फल्स बटम बनाएर डलर र सुन बोक्ने गरेको दाबी प्रहरी अधिकारीहरू गर्छन् ।

१३ पुस २०७३ मा कलंकीबाट पक्राउ परेको गाडी

त्यतिबेला पनि उनी गाडी चालकको रुपमा सुन बोकेर आएका थिए । राजस्व अनुसन्धान विभाग हरिहर भवनबाट मुद्दा चलाइएका उनी पाँच वर्ष जेल बसेर २०७८ मा छुटेका थिए ।

त्यसपछि फेरि केरुङ–काठमाडौं चल्ने मालबाहक गाडीको चालकको रुपमा उनी कार्यरत रहेको देखिएको एसएसपी बस्नेत बताउँछन् । ‘उनको विगत र अहिलेको काम गराई, बरामद अवैध डलरलगायतको विश्लेषण गर्दा यो रकमको साइनो सुनसँग देखिन्छ,’ बस्नेतले भने ।

चालक लामाले चीनको नाकासम्म उक्त ट्रक पुर्‍याउने र त्यहाँबाट भिसा प्राप्त व्यक्तिले ट्रक चीन पुर्‍याउने गरेको दाबी प्रहरीको छ । फेरि यही शैलीमा उताबाट ट्रकमा सुन लिएर आउने र नाका कटाएपछि रसुवाबाट लामाले उक्त माल समेत लोड भएको ट्रक गन्तव्यसम्म पुर्‍याउने गरेको दाबी प्रहरीले गरेको छ ।

‘चालक भरिया, मालिक चिनियाँ’ रहेको आशंका

https://www.facebook.com/share/v/19CRcjPEJy/

प्रहरीका अनुसार २५ करोड रुपैयाँसहित पक्राउ परेका लामा भरिया मात्रै हुन् । आमाको नाममा रहेको ना ७ ख १६५२ नम्बरको ट्रक उनी चलाउँदै आएका थिए । काठमाडौंको गोकर्ण बस्दै आएका लामाले पनि उक्त रकमबारे आफू जानकार नरहेको प्रहरीसमक्ष दाबी गरेका छन् ।

लामाले उक्त रकम एक चिनियाँ नागरिकले दिएको दाबी गरेका छन् । ‘सामाखुसीमा ल्याएर एक चिनियाँ नागरिकले रकम गाडीमै दिएका हुन् । त्यसपछि मैले सिटमाथिको सिलिङमा राखेको हुँ,’ चालक लामालाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने ।

यो पनि पढ्नुहोस

२५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर बोकेर केरुङतर्फ जाँदै थिए लामा

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा

चालकले प्रहरीलाई बताएअनुसार उक्त रकम सोमबार साँझ मात्रै दिइएको थियो । त्यसपछि उनले गाडीमा फल्स बटम बनाएर राखेको दाबी छ । तर आफूलाई सामान मात्रै भनेकाले डलर हो वा अरु केही हो भन्ने थाहा नभएको चालकले दाबी गरेको अर्का एक प्रहरी अधिकारी बताउँछन् ।

चालक लामाले दाबी गरेजस्तै उक्त रकमको मालिक चिनियाँ नागरिक रहेको आशंका प्रहरीको छ । ‘रकम चीन जाने र उताबाट सुन लिएर आउने भएपछि यसका मालिक पनि चिनियाँ हुनुपर्ने हाम्रो विश्लेषण हो,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

https://www.facebook.com/plugins/video.php?href=https://www.facebook.com/onlinekhabarnews/videos/1015477243984053

कहाँबाट आयो २५ करोड बढीको डलर ?

एकै पटक २५ करोड १९ लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर र युरो बरामद भएका सम्भवत यो नै पहिलो भएको दाबी प्रहरी अधिकारीहरू गर्छन् । यति ठूलो रकम बरामद भए पनि यो रकम कहाँबाट आयो भन्नेबारे प्रहरी नै अनविज्ञ छ ।

पक्राउ परेका व्यक्तिले रकमबारे जानकारी नै नरहेको बताए पनि प्रहरी अधिकारीहरू यसको स्रोतबारे पनि अनविज्ञ छन् । ‘यत्रो डलर कहाँबाट आयो भन्नेमा हामी पनि चकित छौं । पक्राउ परेका मान्छेले डलरबारे जानकारी नभएको दाबी गर्छन्,’ एसएसपी बस्नेत भन्छन् ।

यसका मालिक पत्ता नलागेसम्म डलर कहाँबाट आयो भन्ने पत्ता लगाउन प्रहरीलाई पनि गाह्रो हुने देखिन्छ । जसकारण अबको अनुसन्धान भने डलरका मालिक खोजीमा केन्द्रीत हुने प्रहरीले दाबी गरेको छ ।

बरामद रकम

कसरी परे पक्राउ ?

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरलाई सोमबार राति एउटा सूचना आयो । २५ करोड अवैध रुपैयाँ भएको सूचना आएपछि तत्काल प्रहरी परिचालन भयो ।

उक्त सूचना पछ्याउँदै गएको प्रहरी टोलीले सोमबार राति १० बजेतिर टोखा नगरपालिका–२ झोरमा पूर्वसूचना अनुसार ना ७ ख १६५२ नम्बरको ट्रक फेला पार्‍यो ।

टोखाबाट त्रिशुली हुँदै केरुङतर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरीले रोक्यो । ट्रकमा चालक मात्रै थिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई प्रहरीले नियन्त्रणमा लियो ।

लामालाई नियन्त्रणमा लिएर सामान्य सोधपुछ गर्नासाथ उनले ट्रकमा सामान रहेको तर आफूलाई के सामान हो भन्ने जानकारी नरहेको बताए ।

त्यसपछि लामालाई नै ट्रक चलाउन लगाएर चार प्रहरी ट्रकमै बसे । स्कर्टिङ गर्दै प्रहरीले उक्त ट्रक राति नै अपराध अनुसन्धान कार्यालय टेकुमा ल्याइयो । चालक बस्ने सिटमाथिको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा र्‍याप गरिएका समान बरामद भए । खोलेर हेर्दा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरका यूरो र अमेरिकी डलर बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत बताउँछन् ।

ठूलो मात्रामा डलर बरामद भएपछि बैंकबाट मेशिन मगाएर प्रहरीले रकम गनेको थियो । राति हातले गने पनि बिहान भने मेसिन ल्याएर प्रहरीले रकम गनेको थियो ।

पक्राउ परेका लामालाई प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइसकेको छ । अब विभागले उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउने छ ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here