टिपर ब्याक गरेर किच्दा साइकल यात्रीको मृत्यु

५ पुस, विराटनगर । टिपर ब्याक गरेर किच्दा मोरङको रतुवामाई नगरपालिका–४ स्थित भित्री सडक खण्डमा आइतबार साँझ एक जना साइकल यात्रीको मृत्यु भएको छ। 

उत्तरतर्फ जाँदै गरेको को १ ख ५११० नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो।

frontline

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार टिपरको ठक्करबाट साइकल यात्री रतुवामाई–४ का ५७ वर्षीय हरिराम गिरीको मृत्यु भएको छ। 

टिपरले साँझ ५ बजेतिर ठक्कर दिँदा भएको दुर्घटनामा परेर गिरीको घटनास्थलमै मृत्यु भएको खड्काले बताए। गिरी रतुवामाईको झुर्कियाबाट कोरोनाविरुद्धको खोप लगाएर घर फर्कँदै गरेका बेला दुर्घटनामा परेका हुन्।

स्थानीयका अनुसार टिपरले ठक्कर दिएपछि गिरी सडकमा लडेका थिए। त्यसलगत्तै ब्याक गरेर टिपरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको रतुवामाई–४ का वडाध्यक्ष देवराज राजवंशीले बताए।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले तोडफोड गरेर टिपरमा क्षति पुर्‍याइदिएका छन्। आक्रोशित भीडले कुटपिट गर्दा टिपर चालक रतुवामाई–९ का ४१ वर्षीय मिलन खड्का घाइते भएका छन्।

आँखा, अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेका खड्काको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि आक्रोशित बनेका स्थानीय, आफन्त र परिवारका सदस्यले शव बुझ्न अस्वीकार गरिरहेका छन्।

सडकमै शव राखेर उनीहरू रातभर आन्दोलनमा उत्रिए। टिपरको लापरबाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर आन्दोलनमा उत्रिएका स्थानीयले राति प्रदर्शन र नाराबाजी गरेका छन्। 

दुर्घटना गराउने चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि साथमा नभएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार साँघुरो सडकमा टिपरले साइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको पाइएको छ।

 मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अवस्था तनावपूर्ण हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए।

उनका अनुसार स्थिति साम्य बनाएर घटनास्थलबाट शव उठाउँदै पोस्टमार्टमका लागि लैजाने प्रयास भइरहे पनि स्थानीयले अवरोध गरिरहेका छन्। 

 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here