टिपरको ठक्करले एकको मृत्यु, पाँच जना घाइते
१८ चैत, सप्तरी । टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
टिपरको ठक्करबाट नेपाल विद्युत प्राधिकरणको बोलेरोका चालक सप्तरी बोदे बर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको हो ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै बोलेरो गाडीमा सवार बोदे बर्साइन नगरपालिका–१० का ३० वर्षीय शैलेश यादव, सोही उमेरका महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय वृजेशकुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुणकुमार सिंह घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदे बर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्