टर्की भूकम्प : हालसम्म नेपालीको क्षतिको विवरण प्राप्त नभएको

२५ माघ, काठमाडौं । टर्कीमा गएको शक्तिशाली भूकम्पमा हालसम्म कोही नेपालीको क्षतिको विवरण प्राप्त नभएको नेपाली राजदूतावासले जनाएको छ ।

टर्की समेत हेर्ने पाकिस्तानको इस्लामाबादस्थित नेपाली दूतावासले प्रभावित क्षेत्रका अधिकांश नेपाली आफन्त वा आफ्नो समुदायमा सम्पर्कमा रहेको जानकारी गराएको छ ।

frontline

“अहिलेसम्म नेपाली परेको कुनै जानकारी प्राप्त भएको छैन,” पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले भने, “त्यहाँ रहनुभएका नेपाली आफ्नो समुदाय, आफन्त र साथीभाइसँग सम्पर्कमा रहनुभएको हामीले जानकारी पाएका छौँ ।”

भूकम्प प्रभावित क्षेत्रका तीन नेपाली भने उद्धार केन्द्रमा रहेको सूचना प्राप्त भएको उनले बताए । उनीहरू सकुशल रहेको राजदूत अधिकारीको भनाइ छ ।

भूकम्प गएको दुई दिन बितिसकेको छ । अधिकांश नेपाली आफन्तसित सम्पर्कमा रहेकाले सबैजना सुरक्षित रहेको मान्न सकिने उनले उल्लेख गरे ।

उनका अनुसार टर्कीमा करिब दुई हजार नेपाली रहेको अनुमान छ । उनीहरू विभिन्न पेसा, व्यवसायमा आबद्ध छन् । टर्कीमा विद्यार्थीका रूपमा पनि नेपाली रहेको उनले बताए ।

दूतावासले भूकम्पका कारण कोही नेपाली नागरिक समस्यामा परेमा जानकारी गराउन आग्रह पनि गरेको छ ।

टर्कीमा गएको सोमबारको भूकम्पपछि अहिलेसम्म झन्डै आठ हजारजनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here