ज्योति भण्डारीले २२ करोड रकम ठगेको सीआईबीको निष्कर्ष
महाप्रबन्धक ज्योति गुरुङसँग फेसबुकबाट चिनजान
समाचार सारांश
- मितेरी बचत तथा ऋण सहकारीको रकम हिनामिनामा ज्योतिबहादुर भण्डारीको संलग्नतामाथि अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
- भण्डारीले सहकारीका पदाधिकारी र अन्य व्यक्तिहरूलाई आकर्षक ब्याजको लोभ देखाएर २२ करोड ठगी गरेको आरोप छ।
- अनुसन्धानले भण्डारीले नागरिकता र पासपोर्ट किर्ते गरेको र संगठित अपराधमा संलग्न रहेको देखाएको छ।
काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम हिनामिनामा संलग्न ज्योतिबहादुर भण्डरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले यसै साता अनुसन्धान प्रतिवेदन बुझाउँदै छ ।
धेरैजसो थाइल्याण्ड र कम्बोडियामा बस्ने भण्डारीले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा सहकारीको रकममात्रै ठगेनन्, ‘आकर्षक ब्याज’को लोभ देखाएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङसँग व्यक्तिगत रूपमा करोडौँ ठगेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
मितेरीको सावाँब्याज सहित १४ करोड र सहकारीका पदाधिकारीबाट थप रकमसमेत गरेर उनले २२ करोड रुपैयाँ ठगेको भेटिएको छ ।
ठगीको ‘मास्टरमाइन्ड’ भण्डारीले ह्वाट्सएप मार्फत हुने पार्सल ठगीको शैली मितेरीका पदाधिकारीलाई अपनाएको भेटिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार महाप्रबन्धक ज्योति गुरुङमार्फत सहकारीको रकम अपचलन गरेपछि उनले सहकारीका पदाधिकारीलाई विदेशबाट भने, ‘ग्लोबल आईएमई बैंकको न्युरोड शाखामा ३१ करोड रुपैयाँ पठाएको छु, त्यो निकाल्न तपाईंहरूले ३ करोड ४४ लाख हाल्नुपर्ने हुन्छ ।’
विदेशबाट पठाएको डलरको फोटोसमेत देखाएर उनले भनेका थिए, ‘त्यहाँको मेनेजरले तपाईंहरूलाईं फोन गर्छन् ।’
नभन्दै पदाधिकारीलाई बैंक मेनेजर भनेर फोन आयो । पछि बुझ्दा ती बैंक मेनेजर त नक्कली रहेछन् । सो ३१ करोड निकाल्न सहकारीका सचिव कृष्ण रानाले २ करोड, कुम्भराज गुरुङले १ करोड र ज्योति गुरुङले ४४ लाख भण्डारीले भनेको मानिसलाई बुझाए । तर, भण्डारीले विशुद्ध ठगीको शैली अपनाएर सहकारीका पदाधिकारीसँग रकम लिएको अनुसन्धानबाट थाहा भएको छ ।
भण्डारीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको सीआईबीका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘करिब २२ करोड रुपैयाँ ठगी गरेको देखिन्छ, हामी यसै साता सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाउँछौँ ।’
- भण्डारी भन्छन्– १३ करोड कम्बोडियामा छ
कम्बोडियामा पक्राउ गरेर असार ४ मा प्रहरीले भण्डारीलाई काठमाडौँ ल्याएको हो । अनुसन्धान गर्दै जाँदा उनीसँग ‘कनेक्सन’ देखिएका बर्दियाका सुरेश अधिकारी र धादिङका सुवास खत्री पक्राउ परे ।
काठमाडौँबाट २२ करोड रुपैयाँ संकलन गरेर सुरेश अधिकारीले सुवास खत्रीलाई बुझाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् । सो रकम विभिन्न समयमा खत्रीले हुण्डी गरेर भण्डारीलाई थाइल्याण्ड र कम्बोडिया पठाउने गर्थे ।
खत्री तिनै व्यक्ति हुन्, जसले असार १५ मा पक्राउ परेपछि ‘आइफोन १६’ फुटपाथमा पछारेर फुटाएका थिए । भण्डारी र खत्रीको बिचमा लामो समयदेखि कारोबार र कुराकानी हुँदै आएको थियो । मोबाइलमा महत्त्वपूर्ण प्रमाण भएको हुनसक्ने हुनाले सो नष्ट गर्न खत्रीले आफ्नो ‘आइफोन १६’ फुटाएको प्रहरी अधिकृतहरू बताउँछन् ।
भण्डारीले १३ करोड रुपैयाँ कम्बोडियामा रहेको बयान दिएका छन् । प्रहरी अधिकृतहरूसँग उनले भनेका छन्, ‘कम्बोडियाका एक जना व्यक्तिसँग मेरो १३ करोड छ ।’
उनीहरू विरुद्ध प्रहरीले ठगी, हुण्डी, अभौतिक मुद्रा र संगठित अपराधमा अभियोजन गर्नुपर्ने राय दिनेगरी अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ । भण्डारीले क्रिप्टो करेन्सीको पनि कारोबार गरेको भेटिएको छ । भण्डारीले नागरिकता र पासपोर्ट किर्ते गरेको हुनाले किर्ते मुद्दामा पनि अभियोजन गर्नुपर्ने देखिएको एसएसपी बोगटीले बताए ।
बर्दियाको बाँसगढी नगरपालिका–७ घर भएका भण्डारीले लिएको दुईवटा पासपोर्टमा फरक नागरिकता नम्बर उल्लेख गरेको भेटिएको छ ।
भण्डारीको नाममा जारी भएको १०५४८६८८ नम्बरको पासपोर्टमा नागरिकता नम्बर १५८८३ र जन्मस्थान कास्की उल्लेख गरेको भेटिएको छ । अर्को पासपोर्ट नम्बर ११३६४६९१ मा नागरिकता नम्बर १४८०३ र जन्मस्थान बर्दिया उल्लेख गरेको भेटिएको छ ।
मितेरी सहकारीका सञ्चालक ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध जाहेरी परेको थियो । ज्योति गुरुङ कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङकी पत्नी हुन् ।
- गुरुङसँग फेसबुकमार्फत चिनजान
मितेरीको महाप्रबन्धक ज्योति गुरुङसँग चिनजान भएपछि ज्योतिबहादुर भण्डारीले सहकारी र त्यसमा आवद्ध पदाधिकारीलाई ठगी गर्न सफल भएका थिए । गुरुङसँग फेसबुकमार्फत भण्डारीको चिनजान भएको थियो ।
भण्डारीले पठाएको फ्रेन्ड रिक्वेस्ट गुरुङले स्वीकार गरेपछि उनीहरूको बिचमा कुराकानी भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
सुरुमा थानकोट र त्यसपछि पोखरामा उनीहरूको बिचमा बाक्लो भेटघाट हुने गरेको बताइएको छ ।
त्यसपछि गुरुङले नै सहकारीका पदाधिकारीहरूसँग भण्डारीको सम्पर्क गराएकी थिइन् । सहकारीका सचिव कृष्ण रानाले खाता सञ्चालन गरेको ग्लोबल आइएमई बैंकको न्यूरोड शाखामा ३१ करोड रकम पठाएको छु भनेर उनले ह्वाट्स एपमा टोकन पठाएका हुन् । त्यही रकम निकालेर सहकारीको अपचलन फिर्ता ल्याउन खोज्दा कुम्भराजले दुईवटा घर बेचेका छन् ।
न्युरोड शाखामा जम्मा भएको रकम निकाल्न ३ करोड ४४ लाख हाल्नुपर्ने भएपछि सो रकम जुटाउन कुम्भराजले घर बेचेको सहकारीका एक जना सदस्यले रातोपाटीलाई बताए ।
मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पनि प्रहरीले बयान लिएको छ । सो प्रकरणमा गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ फरार छिन् ।
आरोपितले अन्य व्यक्तिहरूको राहदानी र नागरिकताको विवरण परिवर्तन गरेर काल्पनिक व्यक्तिहरूको विवरण राख्दै किर्ते गरेको नागरिकता र पासपोर्ट ठगीमा प्रयोग गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । भण्डारीले फरक नामबाट फेसबुक र ह्वाट्स एप चलाएर ‘ठगीधन्दा’ चलाउने गरेको अनुसन्धानमा संलग्न ब्यूरोका अधिकृतहरू बताउँछन् ।






प्रतिक्रिया दिनुहोस्