जेलेन्स्कीलाई डोनाल्ड ट्रम्पले भने-तिमी तेस्रो विश्वयुद्ध निम्त्याउँदै छौ

राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएपछि खनिज सम्झौता असफल भएको छ भने युक्रेनलाई अमेरिकी सैन्य सहायता पनि अन्योलमा परेको छ ।
१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएका छन् ।




ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्काचर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै भने, ‘तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौ।’
वार्तामा युक्रेन र अमेरिकाबीचको प्रस्तावित खनिज सम्झौता समेत असफल भएपछि ट्रम्प जंगिएका थिए । त्यसपछि उनीहरुबीच चर्काचर्की नै परेको थियो ।
ट्रम्पले जेलेन्स्कीलाई शान्तिका लागि तयार भएर मात्रै अर्को वार्तामा आउन भनेका थिए । ट्रम्प चर्को रुपमा प्रस्तुत भएपछि जेलेन्स्की बैठकको निर्धारित समयअघि नै हिंडेका छन् ।
यो बैठकमा युक्रेनसँग अमेरिकाले गर्न लागेको खनिज स्रोत सम्बन्धी सम्झौता मुख्य एजेन्डा रहेको थियो । ट्रम्पले यो सम्झौतालाई युद्धविरामका लागि पहिलो शर्तका रुपमा लिएका थिए । तर, उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा भएको कूटनीतिक दबाबका कारण वार्ता तनावपूर्ण बनेको बताइएको छ ।
यस घटनाले अमेरिका-युक्रेन सम्बन्ध थप जटिल बनाएको छ । र, युक्रेनलाई अमेरिकी सैन्य सहायताको निरन्तरता पनि अन्योल भएको छ ।
प्रतिक्रिया दिनुहोस्