जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताहरुको बधाई
टोकियो
१९ असोज (रासस÷सिन्हवा) ः जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ ।
उहाँ सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिनुभएको छ । राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताउनुभएको छ ।
साथै उहाँले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिनुभएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाई दिनुभएको छ ।
उहाँले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन जापान सम्बन्ध राम्रो रहने बताउनुभएको छ । त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई सन्देश पठाउनुभएको छ ।
उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी पनि थाल्नुभएको बताइएको छ । उहाँले देशको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गर्नुर्भको थियो ।
त्यस क्रममा उहाँले निर्वाचनको तयारी सुरु गर्ने घोषणा गर्नुभयो । उहाँले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गर्नुभएको हो । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ ।
त्यसैले उहाँले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको घोषणा गर्नुभएको हो । निर्वाचन गराउने प्रयोजनकै लागि उहाँले यही अक्टोबर १४ मा यहाँको संसदको तल्लो सदन विघटन गर्नुहुने छ र निर्वाचनको औपचारिक सुरुआतको घोषणा गर्नुहुनेछ । –––
प्रतिक्रिया दिनुहोस्