जंगली फल कोप्सीबाट डलर कमाउँदै

श्रोत : ईन्टरनेट

३० कार्तिक, गोरखा ।  उत्तरी गोरखाको मनास्लु पदमार्गमा पर्ने सामागाउँका महिला धमाधम जंगली फल कोप्सी टिपिरहेका छन्। यसरी टिपिएको कोप्सीलाई सुकाएर क्यानडा पठाइन्छ जहाँ स्न्याक्स, हर्बल टि र अल्कोहलमा यसको प्रयोग गरिन्छ। 

विश्वविख्यात आध्यात्मिक गुरू योङ्गे मिङ्ग्युर रिम्पोछेको मिङ्ग्युर फाउण्डेशनको ‘इन्हान्सिङ फुड सेक्युरिटि इन सामागाउँ थ्रु इम्प्रुभ्ड अर्गानिक भेजिटेबल एन्ड गुजि फार्मिङ’ परियोजनाले महिलालाई आय आर्जनमा टेवा पुर्‍याउन कोप्सी विरूवा रोपण र संकलनमा सहयोग पुर्‍याउँदै आएको छ।

frontline

जंगली गुलाब प्रजातीको कोप्सीलाई महिलाले टिपेर राम्रोसँग सफा गरेपछि परियोजनाको सोलार मेशिनमा सुकाइन्छ। सुकाइएको कोप्सीको गुणस्तर हेरेर प्रति केजी ६५ देखि ६७ डलरमा खरिद गरिने परियोजनाकी संयोजक मोर्गोट क्लेभियरले बताइन्। 

‘सामागाउँको अर्गानिक गुजी राम्रो गुणस्तरको छ’, क्लेभियरले भनिन्, ‘हामीले क्यानडाको टी लिभ्स कम्पनीसँग समन्वय गरेका छौं। यसपालि सय केजी पठाउने लक्ष्य छ।’  

कोप्सी सेवनले स्वास्थ्य राम्रो हुने जनविश्वास। हिमाली डाक्टर ‘आम्ची’हरूले समेत यसको प्रयोग गर्छन्।  

त्यत्तिकै खेर गइरहेको जंगली फलबाट आम्दानी हुँदा गाउँका महिला पनि खुसी छन्। ८ महिना अघि सुरु भएको परियोजना अन्तर्गत २१ जना महिलाले कोप्सी बटुल्दै आएका हुन्।  

‘रिम्पोछेको यस कामले महिला शसक्तिकरणमा टेवा पुर्‍याउनेछ’, सामागाउँका प्रमुख लामा जिग्मे लामाले भने। 

परियोजनाले गाउँमा ग्रिन हाउस बनाउने काम पनि अघि बढाएको छ। १५ वटा ग्रिन हाउस तयार भइसकेको छ भने थप ३० वटा बन्दैछन् जहाँ विभिन्न किसिमका तरकारी उत्पादन भैरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here