छोरी बलात्कार गर्नेलाई ४३ बर्ष कैद सजाय

१० फागुन, दैलेख । जिल्ला अदालत दैलेखले छोरी बलात्कार गर्ने एक पुरुषलाई ४३ बर्ष जेल सजाय सुनाएको छ ।
१४ बर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला सदरमुकाम नजिकैको एक गाउँका ३९ वर्षीय बाबुलाई अदालतले ४३ वर्ष कैद र एक लाख रुपैंयाँ क्षतिपूर्ति सजायको फैसला सुनाएको हो ।




जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट छोरीलाई हाडनाता करणी कसुरमा २५ वर्ष र बलात्कार कसुरमा १८ बर्ष कैद तथा एक लाख रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।
झण्डै १५ महिनाअघि ०७७ मंसिर १९ गते १४ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर २१ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो । जाहेरीका आधारमा प्रहरीले सोही दिन बाबुलाई घरबाटै पक्राउ गरेको थियो ।
स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७७ पुस १६ गते जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो ।
अभियोग सम्बन्धमा पुस १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा राख्न कारागारमा पठाइएको थियो ।
पीडित बालिकाले आफू माथि पटक–पटक बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको व्यहोरा अदालतले लिइएको बकपत्रमा दोहोर्याएर बयान दिएकी थिइन् ।
पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र प्रतिरक्षामा दैलेख जिल्ला अदालतका वैतनिक वकील टेकबहादुर केसीले बहस गरेका थिए ।
यो घटना बाहेका दैलेखमा पाँच वर्षअघिको एउटा र यसै वर्ष दुईटा मुद्दा बाबुबाट छोरी बलात्कृत भएको घटना अदालतमा विचाराधीन छन् । जिल्लामा वर्षेनि जन्मदिने बाबुबाट एक छोरी बलात्कृत हुने गरेको अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांक छ ।
जिल्लामा सामाजिक मर्यादा खस्केको, अशिक्षा र कानूनी ज्ञानको अभाव रहेको अधिवक्ता खड्गबहादुर सिजापतिको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्