छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
७ पुस, मोरङ । छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको र कानेपोखरी–९ भौँसाबारीमा माहुरीले चिलेर ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको छ । अन्य चार घाइते भएका छन् ।
केराबारीको एक पसलमा भएको विवादमा लेटाङ–१ का ३० वर्षीय हस्तबहादुर लिम्बूको कुटपिटबाट गत आइतबार घाइते भएका राईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार सम्भव नभई घर लगिएपछि बुधबार राति मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।
लिम्बूलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट बुधबार म्याद थप गराई घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी बेलबारीका निरीक्षक खगेन्द्र धमलाले बताए ।
लिम्बू जबरजस्ती करणी र अभद्र मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरेर मोरङ कारागारबाट छुटेपछि पुनः पक्राउ परेको उनले बताए ।
यस्तै माहुरीको घार गाडीबाट निकाल्ने क्रममा भुइँमा खसेर फुटेपछि स्थानीयलाई चिलेका थिए । भट्टलगायत स्थानीय ६८ वर्षी झबर यादव, ५५ शोखलाल ऋषिदेव, ३६ वर्षीय मानबहादुर सुनार र २० वर्षीया जेनिसा राजवंशी माहुरीले चिलेर घाइते भएको डीएसपी श्रेष्ठले बताए ।
स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा भट्टको मृत्यु भएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । माहुरी पालक झापाको शिवसताक्षी नगरपालिका–९ का ओमदेव बस्नेत र पशुपति अधिकारीलाई नियन्त्रणमा लिई आवश्यक परेको बेला उपस्थित हुने गरी छोडेको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्