चुनावअघि नेतन्याहूले गरे प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता
काठमाडौं : इजरायली प्रधानमन्त्ती बेन्जामिन नेतन्याहू र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलीफोन वार्ता भएको छ । यो कुराकानी इजराइलमा हुन गइरहेको निर्वाचनको ५ दिनअघि भएको हो।
उक्त कुराकानीमा नेतन्याहूले आगामी वर्षको मे १२ तारिखमा पर्ने इजराइलको स्वतन्त्रता दिवसमा मसाल बाल्नका लागि प्रधानमन्त्री मोदीलाई निम्तो दिएका छन्। सामाजिक सञ्जालमार्फत कुराकानीको जानकारी गराउँदै उनले मोदीलाई आफ्ना ‘मित्र’ बताएका छन्।
नेतन्याहूका अनुसार मोदीले निमन्त्रणाका लागि धन्यवाद ज्ञापन गरेका छन्। उनले भारत र इजराइलले आतंकवादविरुद्ध मिलेर लडिरहेको बताएका छन्। साथै, मोदीले दुई देशबीचको दीर्घकालीन सम्बन्धको समेत प्रशंसा गरेका छन्।
यसअघि नेतन्याहूल फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए। उनले स्मितलाई भारत र इजराइलका जनताको ‘हिरो’ बताएका थिए र इजराइल भ्रमणको निम्तो दिएका थिए।
त्यसबेलाको कुराकानीमा नेतन्याहूल आफूले स्मित र आफ्ना मित्र नरेन्द्र मोदीलाई इजराइलको आगामी स्वतन्त्रता दिवस समारोहमा मसाल बाल्न निम्तो दिन चाहेको बताएका थिए। अहिले उनले मोदीसँग प्रत्यक्ष कुराकानी गर्दै यो निमन्त्रणाको कुरा दोहोर्याएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले पनि आफ्नो सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै दुई नेताबीच पश्चिम एसियाको हालैको अवस्थाबारे छलफल भएको र क्षेत्रमा शान्ति तथा स्थिरता बहाली गर्नुपर्ने तत्कालको आवश्यकतामा जोड दिएको बताएका छन्।
गत सेप्टेम्बर ३० का दिन दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको फ्लाइट एफजेड १०७३ मा ओमानी सह-पाइलट हमाद अल-हमामीले भारतीय क्याप्टेन स्मित मच्छरमाथि धारिलो हतियारले आक्रमण गरेका थिए।
आक्रमणका क्रममा विमान तीव्र गतिमा तल खस्न थालेको थियो। त्यसपछि यात्रु र क्रू सदस्यहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिए। त्यसलगत्तै विमानमा सादा पोषकमा सवार अन्य दुई पाइलटले विमानको कमान सम्हालेर साउदी अरेबियाको ताबुकमा सुरक्षित अवतरण गराएका थिए। उक्त विमानमा १७२ जना सवार थिए।
साउदीमा विमान अवतरण भएपछि क्याप्टेन स्मितलाई उपचारका लागि लगिएको थियो।
इजराइलमा स्वतन्त्रता दिवसमा १२ वटा मसाल बाल्ने परम्परा
इजराइलको स्वतन्त्रता दिवसलाई ‘योम हाअत्जमाउत’ भनिन्छ। यो हिब्रू क्यालेन्डरको ५ इयारमा मनाइने हुनाले ग्रेगोरियन क्यालेन्डरमा यसको मिति हरेक वर्ष परिवर्तन भइरहन्छ। सन् २०२७ मा स्वतन्त्रता दिवस मे १२ मा पर्नेछ। यसको समारोह ११ तारिखको साँझदेखि नै सुरु हुनेछ। सोही क्रममा जेरुसेलमस्थित माउन्ट हर्जेलमा मसाल बाल्ने विशेष समारोह आयोजना गरिन्छ।
यो समारोह ‘योम हजिकारोन’ (सैनिकहरू तथा आतंकवादी आक्रमणमा मारिएकाहरूको स्मृति दिवस) को अन्त्य र स्वतन्त्रता दिवसको सुरुवातको प्रतीक हो।
समारोहमा एक-एक गरी १२ वटा मसाल बालिन्छन्। यी मसालहरूलाई इजराइलका १२ प्राचीन जातजातिहरूको प्रतीक मानिन्छ।देशका लागि विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई मसाल बाल्ने सम्मान दिइन्छ। यसमा सामाजिक कार्यकर्ता, वैज्ञानिक, सैनिक, कलाकार र शहीद सैनिकका परिवारहरूसँग सम्बन्धित व्यक्तिहरू पनि समावेश हुन सक्छन्।
समारोहमा सुरुमा इजरायली झण्डालाई तल झुकाएर फेरि उठाइन्छ। यो शोकको अन्त्य तथा खुसी र स्वतन्त्रताको सुरुवातको प्रतीक मानिन्छ।
अक्टोबर २७ मा इजराइलमा चुनाव
इजराइलमा अक्टोबर २७ मा हुन लागेकाे निर्वाचनलाई जनमत संग्रहको रूपमा हेरिएको छ। नेतन्याहूको लिकुड पार्टीको नेतृत्वमा रहेको गठबन्धन सत्तामा फर्कने प्रयासमा छ। चुनावमा सुरक्षा, युद्ध र सरकारको नीति मुख्य मुद्दा बनेका छन्।






प्रतिक्रिया दिनुहोस्