चीन निर्यात हुन थाल्यो नेपाली चिया
Highlights
- चीनको स्प्रिङ टी लिमिटेड खरिदकर्ता, पूर्वी नाकाबाट कोलकाता हुँदै करिब ७० लाख मूल्यको ६ हजार ३ सय ६२ किलो चिया चीन गयो
विराटनगर — युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चिया चखाइरहेको इलामको गोर्खा टी इस्टेटले पहिलो पटक छिमेकी देश चीनमा चिया निर्यात थालेको छ । चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा निर्यात सुरु भएपछि पूर्वका चिया उद्यमी हौसिएका छन् ।
यसअघि चिनियाँ व्यवसायीले व्यक्तिगत रूपमा किनेर लैजाने गरेका थिए । तर गोर्खा टी इस्टेटले औपचारिक रूपमा निर्यात गरेको पहिलो पटक हो । मेची भन्सार कार्यालयका अनुसार आइतबार पूर्वी नाकाबाट कोलकाता हुँदै करिब ७० लाख मूल्यको ६ हजार ३ सय ६२ किलो चिया चीन निर्यात भएको हो । चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको हो ।
पछिल्लो समय चीनले नेपाली चियाप्रति चासो देखाउँदै आएको गोर्खा टी इस्टेटका संस्थापक उदय चापागाईंले जनाए । ‘गुणस्तरीय नेपाली चियाका लागि चीन राम्रो बजार हो,’ चापागाईंले भने, ‘हामीले पहिलो पटक पठाएका छौं, हेरौं कस्तो प्रतिक्रिया आउँछ ।’
चिया चीन निर्यात गर्न चापागाईंले तीन वर्षदेखि निरन्तर प्रयास गरिरहेका थिए । प्रयोगशालामा परीक्षण लगायत सबै प्रक्रिया पूरा गरेर चिया पठाइएको उनले बताए । ‘यो भविष्यमा नेपाली चियाका लागि गेट वे हुन सक्छ,’ चापागाईंले भने, ‘चीनमा पर्याप्त चिया पठाउन सकियो भने भारतको एकाधिकार पनि तोडिन सक्छ ।’
नारायण खड्का परराष्ट्रमन्त्री भएका बखत नेपाली चिया किन्न चीनले तत्परता देखाएको थियो । नेपालले डेढदेखि दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्दै आएको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ ।
‘चीनले चिया किन्न थालेपछि भारत मात्रैको भर पर्नुपर्ने बाध्यता हट्छ,’ चापागाईंले भने, ‘गुणस्तरयुक्त चिया उत्पादन गर्नुपर्यो, चीन किन्न तयार देखिन्छ ।’ अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चियाको माग व्यापक देखिन्छ । खासगरी भारतपछि जर्मनी, जापान जस्ता देशमा नेपाली चियाको उच्च माग छ । केही समयअघि चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उत्पादनले ‘ग्रान्ड गोल्ड मेडल’ समेत प्राप्त गरेपछि चिया उद्यमी थप हौसिएका हुन् ।
नेपाली उद्यमीलाई चिनियाँ व्यापारीसँग जोड्न सरकारले सहयोग गर्नुपर्ने उद्यमी चापागाईंको भनाइ छ । नेपालमा करिब १७ हजार हेक्टर जमीनमा चियाखेती हुन्छ, जसबाट वार्षिक २३ हजार ७ सय ४५ टन चिया उत्पादन हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन् । ६० हजारभन्दा बढी श्रमिक प्रत्यक्ष संलग्न छन् ।
प्रतिक्रिया दिनुहोस्