चीनमा लकडाउनबाट आइफोनको सबैभन्दा ठूलो सप्लायरमा ताला, विश्वव्यापी आपूर्तिमा असर
१८ कात्तिक, काठमाडौं । चीनका कतिपय सहरहरु अहिले लकडाउनमा छन् । चीनको झाङझउ सहरमा पनि एक साता लामो लकडाउन जारी गरिएको छ । उक्त सहरमा फक्सकन टेक्नोलोजीको सबैभन्दा ठूलो आइफोन उत्पादन कारखाना समेत छ ।
लकडाउनबाट आइफोनको सबैभन्दा ठूलो कारखाना तथा सप्लायरमा ताला लागेसँगै यसले आइफोनको विश्वव्यापी आपूर्तिमा असर गर्ने बताइएको छ ।
बिजनेस स्टाण्डर्डको रिपोर्ट अनुसार चीन सरकारले झांङझउस्थित फक्सकनको प्रमुख आइफोन कारखाना आसपासका क्षेत्रमा नोभेम्बर ९ सम्मका लागि एक हप्ते लकडाउन गरेको छ ।
चीन सरकारले लकडाउन लगाएका क्षेत्रमा सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाएको छ भने व्यावसायिक गतिविधि पनि ठप्प छन् ।
ताइबानी कम्पनी फक्सकन एप्पलको आपूर्ति श्रृंखलाको सबैभन्दा ठूलो सप्लायर हो । कोरोना महामारीपछि कम्पनीले आफ्ना २० हजार कर्मचारीमध्ये केहीलाई क्वारेन्टिनमा राख्न बाध्य भएको छ । त्यस्तै कतिपय कर्मचारीलाई जागिरबाट निकालिएको छ भने कतिपयले राजीनामा दिएका छन् ।
पछिल्लो लकडाउनका कारण कम्पनीलाई नयाँ कर्मचारी भर्ना तथा भर्ना भएका कर्मचारीलाई काममा ल्याउन पनि समस्या पर्नेछ ।
लकडाउनका कारण फक्सकनलाई आफ्नो सञ्चालन जारी राख्न र उत्पादित सामग्री पठाउन समस्या पर्नेछ । यद्यपि पछिल्लो लकडाउनका विषयमा फक्सकन र एप्पल दुवैले कुनै पनि प्रतिक्रिया जनाएका छैनन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्