चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक ३७ प्रतिशत घटे

चालु आव चैत मसान्तसम्म भने १ लाख ८२ हजार २ सय २७ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए ।
२१ वैशाख, चितवन। चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्यामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०/८१ चैत महिनाको तुलनामा चालु आव २०८१/८२ चैतसम्म चितवन निकुञ्ज घुम्न आउने पर्यटक ३७ प्रतिशतले कमी आएको देखिएको छ ।




निकुञ्जका अनुसार गत आव चैतसम्म २ लाख ५० हजार ३ सय ६७ आन्तरिक तथा वाह्य पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
चालु आव चैत मसान्तसम्म भने १ लाख ८२ हजार २ सय २७ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए ।
उनका अनुसार चालु आव चैतसम्म ९२ हजार ८ सय ९० नेपाली, सार्कका १६ हजार ७ सय ९८ र तेस्रो देशका ७२ हजार ५ सय ३९ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् ।
गत आव चैतसम्म १ लाख ५० हजार नेपाली, २३ हजार ६ सय ३८ सार्कका र ७५ हजार ९ सय ४४ तेस्रो मुलुकका पर्यटकले निकुञ्ज घुमेका थिए ।
प्रमुख संरक्षण अधिकृत पन्तले निकुञ्जमा आफूहरू धेरै भीड बढाउने पक्षमा नभएको बताए । उनले निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्या र सफारी गर्ने जिप संख्यामा कमी आउँदा पर्यटकसँगै राजस्व घटेको भने बताए ।
पर्यटक र राजस्व लक्ष्य यति नै भन्ने नहुने भन्दै पन्तले गुणस्तरीय पर्यटकमा जोड दिइएको बताए । उनले आफूहरूको ध्यान संरक्षणमा केन्द्रित रहेको दाबी गरे ।
पन्तले यस्तो दाबी गरे पनि गत वर्ष निकुञ्जमा जिप सफारी निकैपछि खुल्नु, असोजमा बाढी आएको घटनाले पर्यटक संख्यामा कमी देखिएको हो । अघिल्लो आव चैतसम्म १ लाख ५० हजार नेपालीले निकुञ्ज भ्रमण गरेकोमा चालु आव चैतमा घटेर ९२ हजारमा अडेको छ ।
चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् ।
निकुञ्जभित्र जिपमा मात्रै पर्यटक घुम्ने गरेका छन् । निकुञ्जभित्र हात्ती लैजान रोक लगाइएको छ । प्रतिजिप निकुञ्जले ५ हजार लिने गर्दछ । निकुञ्जमा नेपाली पर्यटकसँग प्रतिव्यक्ति १ सय ५० रुपैयाँ, सार्क पर्यटकसँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।
चितवनमा मुख्यगरी निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन् ।
पर्यटक हात्ती, जिप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्न पर्यटकले टिकट काट्नु पर्दछ ।
निकुञ्जले गुमायो करिब ५ करोड राजस्व
निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्या घट्दा निकुञ्जले राजस्व समेत गुमाएको छ । गतवर्ष चैतसम्म २८ करोड २६ लाख राजस्व संकलन गरेको निकुञ्जले चालु आव चैतसम्म २३ करोड ६४ लाख ९९ हजार ९ सय ५९ रुपैयाँमात्रै राजस्व संकलन गर्न सकेको देखिन्छ ।
चालु आव बाँकी ३ महिना अवधिमा गत वर्ष चैतसम्म राजस्व संकलन लक्ष्य पनि भेट्टाउन निकुञ्जलाई धौधौ परेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत वर्ष चैतसम्म निकुञ्जले पर्यापर्यटनबाट मात्रै २३ करोड ८९ लाख राजस्व उठाएको थियो ।
गतवर्ष चैतसम्म २८ करोड २६ लाख राजस्व संकलन गरेको निकुञ्जले चालु आव चैतसम्म २३ करोड ६४ लाख ९९ हजार ९ सय ५९ रुपैयाँमात्रै राजस्व संकलन गर्न सकेको देखिन्छ ।
चालु वर्ष चैतसम्म २१ करोड ५ लाख १६ हजार ५ सय मात्रै राजस्व निकुञ्जले पर्यापयर्टन शीर्षकमा उठाएको देखिन्छ । काठदाउरा बिक्रीबाट २० लाख, गैरकाष्ठ वनपैदावारबाट २ करोड १६ लाख राजस्व संकलन गरेको छ । दण्ड जरिबानाबाट समेत उठ्ने राजस्वमा कमी आएको छ ।
चितवन राष्ट्रिय |निकुञ्ज पर्यटक
प्रतिक्रिया दिनुहोस्