चितवन पालिकास्तरीय दाबेदारमा पूर्वलडाकुको दौडधुप
११ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पालिकास्तरीय नेतृत्वका लागि पूर्वजनमुक्ति सेनामा काम गरेका धेरै आकांक्षी देखिएका छन् । चितवनका सातैवटा स्थानीय तहको नेतृत्वका लागि पूर्वलडाकुहरूको दौडधुप बढेको हो ।
अध्यक्षको आकांक्षीमा भरतपुर महानगर र माडी नगरपालिकामा ३/३ जना, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा ४/४ जना, खैरहनी र कालिका नगरपालिकामा ६/६ जना, राप्तीमा २ जनाको नाम चर्चामा छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला तथा निर्वाचित क्षेत्र भएकाले चितवनमा नेतृत्वका लागि रस्साकस्सी बढेको छ ।
प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी र भरतपुरबाट नेतृत्वमा आउने व्यक्ति चासोका रूपमा हेरिएको छ । भरतपुर समिति अध्यक्षमा ईश्वर सापकोटा सुमन, रामचन्द्र अधिकारी र अञ्जान तिमिल्सिनाको नाम चर्चामा छ । सुमन जनयुद्धका घाइते पनि हुन् ।
उनले युद्धकालमा करिब ३ सय जना जनमुक्ति सेनाको कमाण्डर भएर काम गरेका थिए । वाईसीएल चितवन अध्यक्ष भएर पनि काम गरिसकेका छन् ।
रामचन्द्र अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भएयता राजनीतिमा बढी सक्रिय छन् । अञ्जान सेनाको जागिर छाडेर जनमुक्ति सेना बनेका व्यक्ति हुन् । उनले जनमुक्ति सेनाहरूलाई प्रशिक्षण दिने गर्दथे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन इञ्चार्ज इश्वरी भट्टराईका अनुसार चितवनको पालिकास्तरको नेतृत्वमा ४ सय ७९ जना आउँनेछन् ।
महानगरमा ९९ जना, अन्य ५ पालिकाहरूमा ६५ जना र इच्छाकामना गाउँपालिकामा ५५ जना पदाधिकारीमा आउँनेछन् । भट्टराईले सातवटै पालिकामा आकांक्षी धेरै देखिए पनि सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्