चितवनबाट सुरू हुँदै बाघ गणना

१९ मंसिर, काठमाडौं । आइतबार चितवनबाट बाघ गणना सुरू हुँदैछ। चितवन राष्ट्रिय निकञ्जको पूर्वी सेक्टर सौराहाबाट गणना सुरू गर्न लागिएको हो।

क्यामेरा ट्रयापिङ विधिबाट देशभरका बाघ गणनाका लागि तीन वटा कम्प्लेक्स बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

frontline

नवलपरासीको त्रिवेणीदेखि दाउन्नेबाट पूर्व रौतहटको बागमतीसम्मको वन क्षेत्रलाई एउटा कम्प्लेक्स मानिएको छ।

बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रलाई अर्को कम्प्लेक्स मानिएको छ।

तेस्रो कम्प्लेक्स शुक्लाफाँटा क्षेत्र रहनेछ। गणना राष्ट्रिय निकुञ्ज मात्रै नभई बाघको बासस्थान मानिने राष्ट्रिय वनमा पनि गरिनेछ।

पूर्वको इलामदेखि पश्चिम डडेल्धुरासम्मै क्यामेरा राखेर बाघको गणना गरिने विभागले जनायो।

चितवनमा आइतबार उद्घाटन गरेर गणना सुरू गरिने भए पनि अन्य क्षेत्रको गणना मिति तय छैन।

उद्घाटनका लागि वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव आउँदैछन्। उनले गणनामा प्रयोग हुने क्यामेरा जडान गरेर उद्घाटन गर्नेछन्।

बाघ गणनाका लागि चितवन-पर्सा कम्प्लेक्सलाई तीन वटा ब्लकमा विभाजन गरिएको छ।

चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती तीन ब्लकमा ८ सय ७५ वटा ग्रीड बनाइनेछ।

त्रिवेणी-दाउन्ने-सौराहा (पहिलो ब्लक)मा २ सय ८५, सौराहा-मनहरी(दोश्रो)मा ३ सय १० र मनहरी-बागमती(तेश्रो)मा २ सय ८० वटा ग्रीड रहनेछन्।

४ वर्ग किलोमिटर क्षेत्रफलका यी सबै ग्रीडमा दुई/दुईवटा क्यामेरा जडान गरिनेछ। 

देशभरमा एक हजार ९ सय बढी ग्रीडमा ३ हजार ३ सय बढी क्यामेरा प्रयोग गरिने छ।

‘बाघको आवतजावत हुने सम्भावित स्थानमा दुईतर्फ एक-एक वटा क्यामेरा जोडिनेछ। त्यो क्यामराले बाघको फोटो खिच्नेछ,’ तिवारीले भने।

तीन वटा ब्लकमा पालैपालो क्यामेरा जडान गरेर बाघको रेकर्ड लिइने उनले बताए।

ब्लकमा १३ वटा समूह बनाएर काम गरिनेछ। आवश्यकताअनुसार हात्ती, गाडी, मोटरसाइकलको प्रयोग गणनामा हुनेछ। 

गणनाका लागि क्यामेरालाई १५ देखि २१ दिनसम्म एकै ठाउँमा राखिने उनले बताए।

‘त्यो अवधिमा क्यामेराले आफ्नो क्षेत्रमा आवतजावत गर्ने बाघलाई कैद गर्छ। पछि फोटो हेरेर बाघको संख्या यकिन गरिनेछ,’ तिवारीले भने।

पाटेबाघलाई उसको शरीरमा हुने पाटाबाट पहिचान गर्न सकिन्छ। हरेक बाघको पाटा फरक-फरक हुने भएकाले दोहोरिएको पत्ता लगाउन सकिने तिवारीले बताए। 

‘एउटा ब्लकमा सकिएपछि वा नसकिँदै पनि अर्को ब्लकमा गणना सुरू गर्न सकिन्छ,’ उनले भने, ‘जनशक्ति र साधन स्रोतको उपलब्धताअनुसार काम अघि बढ्छ।’

चितवन-पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि एक सय जना खटिनेछन्। उनीहरूलाई शुक्रबार र शनिबार तालिम दिइँदैछ।

गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, विज्ञहरू, इन्ट्रन विद्यार्थीहरु सहभागी हुनेछन्। आवश्यकताअनुसार नेचर गाइडलाई पनि सहभागी गराउने तयारी छ। 

देशभर बाघ गणनाका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए।

यसमा नेपाल सरकारको ८४ लाख रुपैयाँ खर्च हुनेछ। बाँकी राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जुलजिकल सोसाइटी अफ लण्डन(जेडएसएल)ले खर्च गर्नेछन्। कोषले आवश्यक प्राविधिक सहयोग गर्नेछ। 

सन् २०१८ मा देशभर गरिएको गणनामा २ सय ३५ वटा बाघ भेटिएका थिए। चितवन निकुञ्जमा ९३, बर्दिया निकुञ्जमा ८७, पर्सा निकुञ्ज र आसपासमा १८, बाँके निकुञ्ज र आसपासमा २१, शुक्लाफाँटा र आसपासमा १६  वटा वयस्क बाघ भेटिएका थिए।

सन् २०१३ को गणनामा चितवनमा १२० वटा बाघ भेटिएकोमा ०१८ मा २७ वटाले घटेका थिए।

शुक्लाफाँटामा पनि बाघको संख्या एउटाले कम भेटिएको थियो।

२०१३ मा देशभरमा बाघको संख्या १ सय ९८ थियो। ५ वर्षपछिको गणनामा चितवन र शुक्लाफाँटा क्षेत्रमा घटे पनि अन्यत्र बढेका थिए। 

नेपालमा सन् १९९५-९६ मा वयस्क बाघको संख्या ९३ देखि ९७ वटा रहेको अनुमान गरिएको थियो। सन् २००९ मा भएको गणनामा देशभरमा १२१ वटा पाटेबाघ भेटिएका थिए।

सन् २०१० मा भएको विश्व बाघ सम्मेलनले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउने लक्ष्य निर्धारण गर्‍यो। सोहीअनुरूप नेपालले पनि बाघको संख्या सन् २०२२ सम्ममा २५० पुर्‍याउने लक्ष्य लिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले बाघको बासस्थान, आहारा प्रजाति विस्तारमा सफलता मिल्दै गएकाले बाघको संख्या लक्ष्यअनुसार वृद्धि भएको बताए।

‘बाघको संख्यालाई दोब्बर बनाउने अन्तर्राष्ट्रिय लक्ष्यलाई यसपटक हासिल गर्ने विश्वास लिएका छौं,’ उनले भने, ‘बाघ गणना हाम्रोलागि राष्ट्रिय पर्वजस्तै बनेको छ।’

विश्वका १३ वटा देशमा पाटे बाघ पाइनेमा नौमध्ये तीन प्रजाति लोप भइसकेका छन्।

नेपालमा पाइने पाटेबाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइन्छ। 

विश्वमा ७० वर्षअघि एक लाखको संख्यामा रहेको बाघ सन् २०१० मा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको थियो।

नियमितरूपमा गरिने गणनाले बाघको वास्तविक अवस्था थाहा हुने र त्यसले संरक्षण तथा व्यवस्थापन प्रभावकारी बनाउन सहयोग पुग्ने सदस्य सचिव अधिकारीले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here