चार सूचकमा देखिने छ ओली-मोदी गोप्य वार्ताको नतिजा

सत्तारुढ नेताहरु भन्दैछन्– ओली–मोदीको बैंकक वार्ता आत्मीय, सौहार्द र सार्थक बन्यो । तर के यो भेट सफल थियो त ? यसको नतिजा भने चारवटा सूचकमा देखिने छ ।
२४ चैत, काठमाडौं । बैंककमा सम्पन्न बिम्स्टेक छैटौं शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेको वान अन वान भेटवार्ता अहिले मुख्य चासोको विषय बनेको छ ।




स्वयं प्रधानमन्त्री ओली र उनी नेतृत्वको नेकपा एमालेका नेताहरुले त्यो भेटवार्तालाई ठुलै उपलब्धि भनिरहेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाटै त्यो भेटवार्ता आत्मीय, सौहार्द र सार्थक बनेको निष्कर्ष प्रस्तुत गरेका छन् ।
‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो । हाम्रो सम्वाद अत्यन्त सार्थक रह्यो’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रधानमन्त्री ओलीकै जस्तो भाषामा समकक्षी मोदीले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका थिए । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ’ मोदीले लेखे, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेषगरी उर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल गर्यौं ।’
स्वदेश फर्किएपछि पनि प्रधानमन्त्री ओलीले भेटवार्ता सुमधुर र हार्दिकताका साथ भएको प्रतिक्रिया दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग ओलीले भने, ‘भेट अत्यन्तै राम्रो भयो, अत्यन्तै सुमधुर बातावरणमा, अत्यन्तै मित्रता हार्दिकताका साथ ।’

एमाले महासचिव शंकर पोखरेलले ओली–मोदीको त्यो गोप्य भेटवार्तालाई ठुलै सफलताका रुपमा प्रचार गरेका छन् । बैंककमा भेटवार्ता सकिनासाथ पोखरेलले लेखे, ‘अस्थिर र विचलित नहुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो, नेपाल र भारतका प्रधानमन्त्री बीचको सम्वाद र सम्वाद पछिको दुवै देशका प्रधानमन्त्रीहरुको सकारात्मक र उत्साहप्रद प्रतिक्रिया ।’
यद्यपि प्रधानमन्त्री ओलीले सगरमाथा सम्वादमा मोदी नेपाल आउन नसक्ने जानकारी विमानस्थलबाटै दिए । ‘यसपल्ट सगरमाथा सम्वादमा मोदीजी आउन भ्याउनु हुन्न, यसकारण कि उहाँको पहिले नै त्यसैबेला यूरोप जाने कार्यक्रम तय भइसकेको रहेछ’ प्रधानमन्त्री ओलीले भनेका छन् । सरकारको तयारी भने सगरमाथा सम्वादमा मोदीलाई ल्याउने थियो । जसका निम्ति परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पहलकदमी लिइरहेकी थिइन् ।
भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट
मोदीलाई सगरमाथा सम्वादमा ल्याउन सफल नभए पनि बैंककमा भएको भेटवार्ता ठूलै उपलब्धि भएको एमाले नेताहरू बताउँछन् । ‘नरेन्द्र मोदी यसरी वान अन वान बस्दैनन्, कम्तिमा एक जना नोट टेकर हुन्छन्’ एमाले केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसपटक वान अन वान बस्नुलाई सामान्य मान्न मिल्दैन ।’

तर त्यो गोप्य भेटको कुराकानी सार्वजनिक भने गरिएका छैनन् । कूटनीतिमा यसलाई स्वभाविकै मानिन्छ । तर त्यो भेट कति महत्वपूर्ण थियो भन्ने चाहिँ परिणाममा देखिनुपर्ने कूटनीति मामिलाका जानकारहरु बताउँछन् । ‘दुई प्रधानमन्त्री बीचको गोप्य भेटवार्ता सकारात्मक होस् भन्ने आशा गरौं । तर कस्तो भयो भन्ने चाहिँ परिणाममा देखिने कुरा हो’, पूर्व राजदूत दीपकुमार उपाध्याय भन्छन् । उपाध्यायले भनेजस्तै यो भेटवार्ताको कति सफल भयो भन्ने चाहिँ आगामी दिनमा देखिने एमाले नेता रिजाल बताउँछन् ।
पार्टीको विदेश विभागमा रहेर काम गरिसकेका रिजाल भन्छन्, ‘त्यो भेटवार्ता कति सफल भए भन्ने कुरा घटनाक्रममा देखिनेछ, परिणामहरुमा प्रकट हुनेछ ।’
कूटनीति मामलाका जानकारहरुका अनुसार ओली–मोदीको यो भेटवार्ताको मूल्यांकन मुख्यगरी चार परिणाममा देखिनेछ ।
बिमस्टेक डिनरमा ओली-मोदी सँगैसँगै
पहिलो : भ्रमण आदानप्रदान
ओली–मोदी बैंकक भेटवार्ताको पहिलो परीक्षा त प्रधानमन्त्री स्तरीय भ्रमणमै हुनेछ । किनकि प्रधानमन्त्री ओलीले अहिलेसम्म भारत भ्रमण गरेका छैनन् । राजनीतिक वृत्तमा भारत भ्रमणसँगै जोडेर वर्तमान सरकारको आयुबारे चर्चा हुने गर्छ ।
भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल भ्रमण गरेका छैनन् । अब तत्कालै प्रधानमन्त्रीय स्तरीय भ्रमण हुन सक्यो भने बैंकक भेटवार्तामा ‘आइब्रेक’ नै भएको पुष्टि हुनेछ ।
यद्यपि पूर्वराजदूत उपाध्याय प्रधानमन्त्रीकै भ्रमण हुनुलाई उपलब्धि मान्न नहुने बताउँछन् । ‘दुई देशबीचको सम्बन्ध भूगोलको आधारमा बनेको छ । ऐतिहासिक सांस्कृतिक सम्बन्धले बनेको छ’ उनी भन्छन्, ‘प्रधानमन्त्रीले भ्रमण गर्ने भन्दा पनि भ्रमणमा उठ्ने कुराको अर्थ हुन्छ ।’
दोस्रो : रोकिएका कामहरूको गति
नेपाल र भारतको सम्बन्धमा समस्या आउँदा केही दीर्घकालीन एजेण्डाहरु अगाडि बढ्न सकेको छैन । विशेषगरी इपीजी प्रतिवेदन बुझ्ने र सीमा विवाद समाधानको पहलकदमी अगाडि बढ्न सकेको छैन ।
सीमा विवाद मिलाउन सन् २०१९ मा वार्ता समिति बनेको थियो । यो पाँच वर्षे अवधिमा एकपटक पनि वार्ता हुन सकेको छैन । केही ठूला परियोजनाहरू अलपत्र छन् । महाकाली सन्धिको १९ वर्ष भइसक्दा पनि डीपीआर समेत बन्न सकेको छैन भने १५ वर्षदेखि उपर कर्णालीको काम रोकिएर राखिएको छ ।

गत वर्ष प्रचण्डले भारत भ्रमण गर्दा रोकिएका र गर्नैपर्ने यी कुनैपनि काम हुन सकेन । बरू उल्टै गेरुवस्त्र लगाउने, अरुण तेस्रो र फुकोट कर्णाली जिम्मा लगाउने जस्ता काम भए । भारतीय विदेश मन्त्रालयले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रुट दिन नसकिने सार्वजनिक जानकारी प्रचण्ड भारत भ्रमणमै रहेका बेला दिए ।
रोकिएका यी कामहरू अगाडि बढे भने बैंककमा ओली–मोदीबीच भएको भेटवार्ता सकारात्मक थियो भन्ने पुष्टि हुने विश्लेषकहरु बताउँछन् ।
विरलै एक्लै भेट्ने मोदीले ओलीलाई भेट दिनुको अन्तर्य
तेस्रो : नियमित कामहरूको अवस्था
दुई छिमेक सम्बन्धको बलियो मानक नियमित कामहरू नै हुन् । २०७२ मा संविधान जारी हुँदा नाकाबन्दी गरेरै भारतले आफ्नो असन्तुष्टि खुला जाहेर गरेको थियो ।
तर अहिले आयात–निर्यातदेखि अरु नियमित कामहरूमा धेरै ठूलो समस्या नरहेको अधिकारीहरू बताउँछन् । गोल्ड स्टार जुत्ता, सिमेन्ट निर्यात जस्ता विषयमा देखिएको समस्या पनि हल भइरहेको बताइन्छ । त्यसैले नियमित कामहरू नरोकिदासम्म छिमेक सम्बन्धमा समस्या नरहेकै मान्नुपर्ने हुन्छ ।
नियमित कामहरुकै रुपमा दुई देशका अधिकारीहरुको भ्रमण आदान–प्रदानलाई पनि लिइन्छ ।
ओली प्रधानमन्त्री बनेपछि परराष्ट्रमन्त्री, उद्योगमन्त्री, श्रम मन्त्रीले भारत भ्रमण गरेका छन् । भारतीय विदेश सचिव श्री विक्रम मिश्री काठमाडौं आएका छन् । सचिव र अरू सरकारी अधिकारीहरुको भ्रमण पनि चलिरहेको छ । अबको नियमित भ्रमणहरुको दरले ओली–मोदी भेटवार्ताको मूल्यांकन हुनेछ ।
चौथो : राजावादी–हिन्दूवादी आन्दोलन
दुई प्रधानमन्त्रीका बीचको राजावादी–हिन्दूवादी गतिविधि पनि प्रवेश गरेको हुन सक्छ । हिन्दू राजनीति गर्दै आएका मोदी र भाजपासँग जोडेर नेपालमा हिन्दू गतिविधिलाई हेरिने गर्छ ।
पछिल्लो समय काठमाडौंमा चलेका प्रदर्शनमा भारतीय नेताका तस्वीर नै राखेको सन्दर्भबीच यो विषय उठेको हुन सक्ने देखिन्छ ।

नेपालमा चलिरहेको हिन्दूवादी–राजावादी गतिविधिलाई भारतीय पक्षले कसरी लिन्छ भन्ने कुराले पनि ओली–मोदी भेटवार्ताको मूल्यांकन हुनेछ ।
नरेन्द्र मोदी प्रधानमन्त्री केपी शर्मा ओली
प्रतिक्रिया दिनुहोस्