चार दिनदेखि हराएकी निरुको शव मकैबारीमा फेला
दैलेख । कालिकोटमा चारदिनदेखि हराएकी एक बालिकाको शव मकै बारीमा फेला परेको छ । खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो ।
गत शुक्रबारदेखि हराएकी निरुको शव मंगलबार दिउँसो घर नजिकै मकैबारीमा भेटिएको हो । जंगली जनावरले क्षतविक्षत पारेको अवस्थामा बालिकाको शव फेला परेको बताइएको छ ।
बालिकाको शव मकैबारीमा देखेपछि स्थानीय र बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव भेटिएको खबर आएसँगै जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहको नेतृत्वमा जिल्ला सदरमुकाम मान्मबाट प्रहरीको टोली खटिएको थियो ।
बालिकाको शव सडेको अवस्थामा फेला परेको डीएसपी शाहले बताए । ‘बालिका भदौ ४ गते बाट हराएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ डीएसपी शाहले भने, ‘घरबाट ३ सय मिटर टाढा शव भेटिएको हो ।’
डीएसपी शाहका अनुसार बालिकाको शरीरको तल्लो भाग स्यालले खाइसकेको अवस्थामा शव भेटिएको छ । शव जिल्ला अस्पताल कालिकोटका पोस्टमार्टम भइसकेको र रिपोर्ट आउन बाँकी रहेको डीएसपी शाहले जाजकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहले बताए। स्थानीय बासिन्दा र बालिकाका आफन्तहरुले निरुको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।
उनीहरुले घटनाको निष्पक्ष अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्