घान्द्रुक जाँदै गरेको जीप दुर्घटना
कास्की, २५ असोज (रासस) : पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ ।
पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र अधिकाँसको मृत्यु भएको छ ।
एक जनाको उद्धार जारी रहेको बताइन्छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला ।”
घटनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिनुभयो ।
जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । –––
प्रतिक्रिया दिनुहोस्