गौर भन्सार कार्यालय अगाडि फोहोरको थुप्रो, पर्यटकलाई सास्ती
श्रीकान्त यादव ।। रौतहट
गौर । गौर भन्सार कार्यालय अगाडि जथाभावी फोहोर फालिँदा मुख्य प्रवेश क्षेत्र नै दुर्गन्धित र कुरूप बनेको छ। सडक छेउ तथा खाली क्षेत्रमा प्लास्टिक, बोतल, कागजलगायतका फोहोरको ठूलो थुप्रो देखिएपछि सरसफाइ व्यवस्थापनप्रति प्रश्न उठेको छ।
भन्सार कार्यालय हुँदै आवतजावत गर्ने स्थानीय, यात्रु तथा पर्यटकहरूले यस्तो फोहोरका कारण असहजता र सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। गौर प्रवेश गर्ने महत्वपूर्ण स्थानमै फोहोरको यस्तो अवस्था रहँदा शहरको सौन्दर्यसँगै पर्यटकीय छविमा समेत नकारात्मक असर पर्ने स्थानीयको भनाइ छ।
फोहोर कसले फालिरहेको छ र यसको व्यवस्थापनको जिम्मेवारी कसको हो भन्ने विषयमा सम्बन्धित निकायले अनुगमन गरी तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। नियमित सरसफाइ, फोहोर संकलनका लागि उचित व्यवस्था तथा जथाभावी फोहोर फाल्न रोक लगाउने प्रभावकारी अभियान सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्।
“पर्यटकलाई स्वागत गर्ने प्रवेशद्वारमै फोहोरको थुप्रो देखिनु गौरको पहिचानका लागि दुःखद विषय हो। सम्बन्धित निकायले अब ढिलाइ नगरी तत्काल सरसफाइ र दीर्घकालीन फोहोर व्यवस्थापनको व्यवस्था गर्नुपर्छ,” स्थानीयको भनाइ छ।
तस्बिरमा गौर भन्सार कार्यालय अगाडिको फोहोरको अवस्था देखिन्छ।






प्रतिक्रिया दिनुहोस्