गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु
७ फागुन, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बहुप्रतिक्षित क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) शुक्रबारबाट सुरु भएको छ ।
एरोथाइको प्राविधिक सहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरी विमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलेन्समा जडित उपकरणले काम गरे नगरेको चेकजाँच गर्नेछ ।
विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले दैनिक ५ देखि ६ घण्टा क्यालिब्रेसन फ्लाइट हुने बताए । एरोथाइको टोली फेब्रुअरी २७ तारिखसम्म भैरहवा रहने छ ।
एरोथाइका पाइलट, को-पाइलटसहित सातजना प्राविधिकटिम सहित क्यालिब्रेसन फ्लाइट शुरु भएको गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल आईसीबी २ का आयोजना प्रमुख प्रवीण न्यौपानेले बताए ।
क्यालिब्रेसन फ्लाइट लगत्तै कम्तीमा ४२ दिन र बढीमा ५६ दिनपछि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरिने प्राधिकरणको भनाइ छ ।
गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले ठेक्का पाएर २०७१ माघ १ देखि काम सुरु गरेको थियो ।
२ वर्षमा पूरा गर्ने भनिएको विमानस्थल निर्माणको काम सात पटक म्याद थपेर २०७८ माघमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्