गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ ।

पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

frontline

उनका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले तत्काल कुनै जोखिम छैन । पहिरोका कारण बूढीगण्डकी नदी थुनिने खतरा पनि नरहेको उनले स्पष्ट पारे ।

‘बूढीगण्डकीमा केही छिटपुट मात्रै आइपुगेको छ । नदी थुनिने अवस्था अहिले छैन । पछि आयो भने बेग्लै कुरा हो । पहिरो खसेको ठाउँ फराकिलो र पाखा भएकाले त्यस्तो खतरा छैन,’ अध्यक्ष गुरुङले भने ।

जिल्ला प्रहरी कार्यालय गोरखाले पनि उक्त स्थानमा सुक्खा पहिरो खसेको बताएको छ ।

गोरखाका एसपी अनिलकुमार खड्काले अनलाइनखबरसँग भने, ‘धार्चे गाउँपालिका-१ को ठाडो भर्‍याङमा धुलोसहितको ठूलो पहिरो खसेको छ । पहिरोबाट कुनै मानवीय क्षति भएको छैन । धुलो सडकसम्म आइपुगेको छ । बूढीगण्डकी नदी थुनिने अवस्था पनि छैन ।’

पहिरो खसेको ठाउँमा प्रहरीको टोली जाँदै गरेको उनले बताए ।

एसपी खड्काका अनुसार आज बिहान ९ बजेको समयमा एक्कासि सुक्खा पहिरो खसेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here