गृहमन्त्री खाँण अध्यक्ष ओली भेट्न पुगे बालकोट

फाइल तस्बिर

११ फागुन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपीशर्मा ओली भेट्न बालकोट पुगेका छन्। बुधबार बिहानै उनी बालकोट पुगेका हुन्। उनले सरकारले अगाडि बढाएको एमसीसीलाई संसद्‍बाट पास गर्न सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ। 

उनले भने, ‘संसद् लामो समयदेखि अवरोध हुँदै आएको छ। गठबन्धनभित्रका दलले एमसीसी पास गर्न संसद् अवरोध हट्नुपर्ने माग राखिकाले संसद्‍मा अवरोध हटाएर सहयोग गरिदिनु होला। एमसीसीको विषयमा सबै दल एक हुनुपर्छ।’

frontline

यस अगाडि ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरी एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनबारे जिज्ञासा राखेका थिए। ‘हिजो बानेश्वरमा भएको घटनाको विषयमा मैले आज गृहमन्त्रीलाई भने– तपाईं पुलिस किन सडकमा पठाउनुहुन्छ ?’, सोमबार आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘कत्रो दुःख गरेर बाटो बनाएको छ। सरकारमा हुने क्रान्तिकारीहरूले भत्काएका छन्। कोही छैन यो देशमा नभत्काऊ भन्ने ? कस्तो सरकार हो ?’

उनले प्रदर्शनकारीबाट प्रहरी कुटिँदा पनि त्यसको प्रतिरक्षा गर्न किन आदेश नदिएको भनेर गृहमन्त्रीलाई प्रश्न गरेका थिए। ‘प्रहरी कुटाइ खाएर भागेको छ। २५ जना मान्छेले ढुंगा हानेको छ। डेढ सय प्रहरी पछाडि भाग्दै छ। केही पनि आदेश हुँदैन’, उनले भने, ‘मैले गृहमन्त्रीलाई सोधेँ, ढुंगा हान्न मात्रै आदेश थियो ? के आदेश थियो ?’ प्रहरी कुटिएकाबारे पनि आफूले गृहमन्त्रीसँग बुझेको उनले जानकारी दिए।

बुधबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्न खाण खुमलटार पुगेका छन्।  प्रचण्डसँगको भेटमा गृहमन्त्री खाँणले प्रचण्डलाई सत्ता गठबन्धन जोगाउन र सरकारले टेबल गरेको एजेण्डामा साथ दिन आग्रह गरेका थिए। उनले जनतामाथि परेको भ्रम निवारण सबै मिलेर गर्नुपर्ने र एमसीसीलाई पास गर्नुपर्ने बताएका थिए। 

मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो। कांग्रेस सभापतिसमेत रहेका देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई दिएका छन्।

तर सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएकाले प्रमुख प्रतिपक्षी एमालेसँग पनि देउवाले भेट बढाएका छन्। 

देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको थियो। भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए। कांग्रेस – एमालेका नेताबीचको भेटमा ओलीले पहिला आफ्ना पार्टीको माग सम्बोधन हुनुपर्ने अडान लिएका थिए।

कांग्रेसका नेताहरु गठबन्धन दलका नेताले विपक्षीमा भोट हाले गठबन्धन टुट्ने बताउँदै आएका छन्। बिहीबार संसद् बैठक बस्ने भएकाले कांग्रेस नेताहरुले दौडधुप बढाएका हुन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here