गुण्डुमा मखमली फूल टिप्ने र माला गाँस्ने चटारो (तस्बिरहरू)
भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्ने र माला गाँस्ने चटारो छ। तिहारमा दाजुभाइको गलामा सजिने मखमली माला तयार गर्न किसानहरू बिहानैदेखि बारीमा व्यस्त छन्। काठमाडौँ उपत्यकामा खपत हुने मखमली फूलको प्रमुख उत्पादन क्षेत्रमध्ये गुण्डु पनि एक हो।
किसानहरू बिहान घाम उदाएसँगै फूल टिप्न बारी पुग्छन्। बिहान टिपिएका फूल दिउँसो माला गाँस्न प्रयोग गरिन्छन्। घाम चर्किएपछि फूल टिप्न उपयुक्त नहुने भएकाले बिहानै टिप्ने गरेको किसानहरू बताउँछन्।

गुण्डुमा मखमलीको खेती जेठदेखि सुरु हुन्छ। भदौदेखि कात्तिकसम्म फूल फुल्ने र टिप्न योग्य हुने भएकाले यही समय किसानका लागि मुख्य उत्पादनको मौसम हो। एक रोपनी जग्गामा मखमली खेती गर्दा एक सिजनमा करिब एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको किसानहरू बताउँछन्।

तर, यस वर्ष फूल फुल्ने र माला गाँस्ने चटारोबिच किसानको व्यापार भने खस्किएको छ। अघिल्ला वर्षमा प्रतिमाला ३५ देखि ५० रुपैयाँसम्म बिक्री हुने गरेकोमा यस वर्ष अपेक्षाअनुसार व्यापार नभएको उनीहरूको भनाइ छ। दुई वर्षअघिसम्म मखमली खेतीबाट ठिकै आम्दानी हुने गरे पनि यस वर्ष किसानहरू निराश छन्।

अरूको जग्गा भाडामा लिएर खेती गर्ने किसानका लागि फूल उत्पादन, टिपाइ र माला गाँस्न लाग्ने श्रम तथा खर्चले आम्दानीको हिसाब अझ चुनौतीपूर्ण बनाएको छ। मेहनतअनुसारको मूल्य नपाउँदा खेतीबाट नाफा कमाउन कठिन भएको उनीहरूको गुनासो छ।






प्रतिक्रिया दिनुहोस्