गलकोटको नीति तथा कार्यक्रम सार्वजनिक
बागलुङको गलकोट नगरपालिका ले आर्थिक वर्ष २०८३र८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख भरत शर्मा गैरे ले नगरसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन, जलस्रोत, स्थानीय सीप तथा पूर्वाधार विकासलाई समृद्ध गलकोट निर्माणको आधारका रूपमा अघि सारिएको जानकारी दिनुभयो।
नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण तथा व्यावसायीकरणमार्फत उत्पादन वृद्धि गर्ने, पर्यटकीय क्षेत्रहरूको पहिचान, संरक्षण र प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना समेटिएको छ। साथै जलस्रोतको दिगो उपयोगमार्फत सिँचाइ तथा खानेपानी सेवामा सुधार गर्ने लक्ष्य राखिएको छ।
स्थानीय सीप र उद्यमलाई जोडेर रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको ब्राण्डिङ गरी बजार विस्तार गर्ने तथा युवा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। पूर्वाधारतर्फ सडक सञ्जाल विस्तार, ग्रामीण सडक कालोपत्रे, झोलुङ्गे पुल निर्माण तथा खानेपानी आयोजनाहरू सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।
नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि वडा तह र विभिन्न सरोकारवालाबाट सुझाव संकलन गरेको थियो। ती सुझावलाई आधार बनाएर नीति तथा कार्यक्रम तयार गरिएको नगर प्रमुख गैरेले बताउनुभयो।






प्रतिक्रिया दिनुहोस्