क्याबिनेट स्थगित, गभर्नर अनिश्चित

राष्ट्र बैंकको रिक्त गभर्नरमा आज हुने भनिएको नियुक्तिको सम्भावना धकेलिएको छ । साँझ ६ बजे डाकिएको क्याबिनेट बैठक अन्तिम क्षणमा रोकिएको छ । आजको बैठकमा गभर्नर नियुक्तिको एजेण्डा राख्ने तयारी थियो ।
क्याबिनेट रोकेर प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच छलफलको तयारी थालिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर सिफारिस समितिको बैठक आजै अपरान्ह राख्ने तयारी थियो । बैठकको निम्ति खबर नगरिए पनि क्याबिनेट बैठक सँगसँगै अर्को कोठामा सिफारिस समितिको बैठक बस्ने सम्भावना भएको जनाउ दिइएको थियो । समितिका एक जना सदस्यले बैठकको समय नतोकिएको तर स्टाण्डबाइको खबर बिहानै भएको बताए ।




नेपाली काँग्रेसले डा. गुणाकर भट्टपछि पछिल्लो समय डा.विश्व पौडेललाई गभर्नरमा अघि सारेको छ । यसअघि उनी सिफारिस समितिमा सदस्य थिए । उनको ठाउँमा डा. पोषराज पाण्डेलाई गत साताको क्याबिनेट बैठकले राखेको हो । गभर्नर नियुक्तिमा अघि सारिएका उम्मेदवारहरुविरुद्ध अदालतमा मुद्दा परेको जनाउँदै प्रधानमन्त्रीले उपयुक्त पात्रको खोजीका लागि काँग्रेसलाई आग्रह गर्नुभएको बताइन्छ ।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको उक्त समितिको सदस्यमा पूर्व गभर्नर महाप्रसाद अधिकारी छन् । यसअघि विजयनाथ भट्टराईले उक्त समिति सदस्यबाट राजीनामा दिएपछि अधिकारी नियुक्त भएका हुन् ।
गभर्नर बन्ने होडमा लाग्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले गत चैतमा राजीनामा दिएका थिए । राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिएको राजीनामा हालसम्म स्वीकृत भएको छैन । अर्का कार्यकारी तथा योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले आगामी आइतबारदेखि अनिवार्य अवकाश पाउँदै छन् ।
प्रतिक्रिया दिनुहोस्