कोही मरेपछि सशस्त्रले आफ्ना मान्छे बल्ल बुझायो प्रहरीलाई

सशस्त्र प्रहरी बल,नेपालले आफ्नो सहायक हवल्दार सुवासकुमार सिंहलाई प्रहरीसमक्ष बुझाएको छ । उनले चलाएको मोटरसाइकलको ठक्करबाट एकको निधन र एक घाइते भएपछि सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि सशस्त्र प्रहरीले अस्ति (शनिबार) जिल्ला प्रहरी कार्यालय,रौतहटको जिम्मा लगाएको हो ।
गत वैशाख २४ गते साँझ साढे ५ बजे कटहरिया नगरपालिका–४,लालबकैया बाँधमा गस्ती गर्न सशस्त्र प्रहरी बल,बेस क्याम्प दुधियाभारबाट उनको कमाण्डमा टोली खटिएको थियो । भारतबाट नेपालतर्फ भन्सार छलीको सामान ल्याउँदै गरेको ग.४ प ४०७३ नम्बरको मोटरसाइकललाई उनले चलाएको बा.८४ प ७३८३ नम्बरको मोटरसाइकलले रोक्न खोज्यो ।




तर, तस्करहरु त्यहाँबाट उम्किए । उनी सवाररत मोटरसाइकल भने अनियन्त्रित भई कटहरिया बजारबाट लालबकैया पुलतर्फ जाँदै गरेको बिआर३०बी७९३६ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुग्यो । ठक्करबाट सो मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–४, टेग्राहा टोलका मोबिल राय यादवका ४५ वर्षीय छोरा अनुठा राय यादव र ३५ वर्षका दिलिप साह कानु गम्भीर घाइते भए ।
स्थानीय मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि वीरगञ्जस्थित गण्डक अस्पताल रिफर गरिएकोमा अनुठाको मृत्यु भएको हो । उनको मृत्यु भएपछि परिवारले सुवासविरुद्ध प्रहरीमा जाहेरी दिए । अनुसन्धानका लागि उनलाई प्रहरीको जिम्मा लगाइएको सशस्त्रका एक अधिकारीले बताए । उनका अनुसार तस्कर भने फरार छन् ।
जनआस्थासँग भने,‘मोटरसाइकल दुर्घटना हुँदा एक जना बितेपछि हामीले सोधपुछका लागि उनलाई प्रहरीकहाँ बुझाएका हौं । फरार तस्करहरुको खोजी भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता नायव उपरीक्षक (डिएसपी) दीपककुमार रायले सवारी ज्यान मुद्दामा हिजो जिल्ला अदालत रौतहटबाट पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भैरहेको जानकारी दिए ।
‘सशस्त्रले अस्ति बुझाएपछि हामीले हिजो अदालतबाट म्याद थप गरेका छौं । उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ’,उनले भने ।
प्रतिक्रिया दिनुहोस्