कोरोना भाइरसको उत्पतीबारे अडान राखेको भन्दै चीनद्वारा नेपालको प्रशंशा

काठमाण्डु । चीनले कोरोना भाइरसको उत्पतीबारे अडान राखेको भन्दै नेपालको प्रशंशा गरेको छ। नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले कोरोना भाइरसको उत्पतीबारे निष्पक्ष अडान लिएको भन्दै नेपालको प्रशंशा गरेका हुन् ।
दूतावासले कोरोनाको उत्पतीबारे नेपालले कुनै पनि राष्ट्रको पक्षमा नलिई निष्पक्ष अडान लिएको भन्दै नेपाललाई धन्यवाद दिएको छ । उनले चीनले अनुदान सहायता वा व्यावसायिक खरिद गरी नेपाललाई ७४ लाख भन्दा बढी डोजको खोप दिएको बताए ।




प्रवक्ता सियाओलोंगले भने, ‘कोरोनाको उत्पत्तिको मुद्दामा चीनलाई बहुमूल्य समर्थन दिनुभएकोमा धन्यवाद दिन चाहान्छु । चीनले नेपालसंग महामारी बिरोधी सहयोगलाई सुदृढ पार्ने, नेपाललाई आफ्नो क्षमता भित्र धेरै खोपहरु उपलब्ध गराउने र विश्वव्यापी महामारीविरुद्ध र वातावरणको रक्षा गर्नको लागी नेपालसंग मिलेर काम गर्नेछ ।’
प्रवक्ता सियाओलोंगले कोरोनाको उत्पतिबारे राजनीतिकरण गर्न आवश्यक नरहेको बताएका छन् । नेपालसहित झण्डै ८० भन्दा बढी देशहरुले डब्लुएचओका महानिर्देशकलाई कूटनीतिक नोट पठाएर कोरोनाको उत्पतिबारे भइरहेको राजनीतिकरणमा आपत्ति प्रकट गरेको बताए ।
‘नेपालसहितका ८० देशहरुले डब्लुएचओका महानिर्देशकलाईश कूटनीतिक नोट पठाएर डब्ल्यूएचओ–चीन संयुक्त अध्ययन टोलीको संयुक्त प्रतिवेदनलाई कायम राख्न आग्रह गरेका छन्,’ उनले भनेका छन्, ‘३०० भन्दा बढी राजनीतिक दलहरु, सामाजिक संगठनहरुले पनि राजनीतिकरणको विरोध गरेका थिए ।’
प्रवक्ता सियाओलोंगले २.५ मिलियन भन्दा बढी चिनियाँ नेटिजेन्सले फोर्ट डेट्रिक बेसमा एक अनुसन्धानको लागी एक खुला पत्रमा हस्ताक्षर गरेको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘यो जनताको न्यायको लागि आह्वान हो । हामी उत्पत्ति ट्रेसिङमा विज्ञानमा आधारित प्रयासहरुलाई समर्थन गर्छौं । सक्रिय रूपमा संलग्न जारी रहनेछ । तर, हामी दृढतापूर्वक यो मुद्दामा भएकाे राजनीतिकरणको विरोध गर्दछौं ।’
कोभिड १९ महामारीपछि चीन र नेपालले सधैं एक अर्कालाई सहयोग र समर्थन गरेको उल्लेख गर्दै प्रवक्ता सियाओलोंगले महामारीबिरुद्धको लडाईमा अन्तर्राष्ट्रिय सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको बताए ।
साथै उनले कोरोना भाइरसको उत्पतीबारे अमेरिकाले लगाएको आरोपको कडा शब्दले निन्दा गर्ने बताएका छन् । कोरोनाको विषय वैज्ञानिकहरुको लागी छोड्न सकिने भन्दै खुफिया विशेषज्ञहरुलाई बोल्ने अधिकार नभएको बताएका छन् ।
प्रवक्ता सियाओलोंगले कुनै प्रमाण नदिई अमेरिकाले चीनलाई बदनाम र आरोप लगाउन एक पछि अर्को कथा बुनेको बताए ।
प्रतिक्रिया दिनुहोस्