कोरोना नियन्त्रण बाहिर

आइतबार, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकारले ९६ बेडको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र सञ्चालन गरेको छ ।  

२१ बेडको आईसीयू र १५ वटा भेन्टिलेटर भरिभराउ छन् । दोस्रो भेरियन्ट उत्कर्षमा पुग्दा बेड अभावमा गम्भीर अवस्थाका अधिकांशले उपचारै पाउन सकेनन् । तर संक्रमण कम हुँदै गएपछि बेडहरु पनि खाली हुँदै गए ।

frontline

दैनिक बिरामी घट्दै जाँदा उपचाररत संक्रमितको संख्या ३५ भन्दा तल झर्‍यो । तर दुई सातायता उपचारका लागि आउनेको संख्या बढिरहेको अस्पतालका प्रमुख वैजनाथ साहले जानकारी दिए । उनका अनुसार अहिले गम्भीर एवं जटिल अवस्थाका संक्रमितले आइसीयू पाउन छाडे ।

‘संक्रमण कम हुँदा दैनिक तीन जनाभन्दा कम बिरामी आउँथे । बेडहरु खाली भएकाले भर्ना सहज थियो,’ उनले भने, ‘तर अहिले दैनिक १० जनाभन्दा बढी आउँछन् ।

दिनप्रतिदिन गम्भीर अवस्थाका बिरामीको संख्या बढेर आइसीयूको माग धेरै भएकाले उपलब्ध गराउन सक्न छाडियो ।’ आइसीयू खाली नभएकाले धेरैजसोलाई फर्काउनु परिरहँदा अवस्था तनावपूर्ण बन्न थालेको उनको भनाइ छ ।

मोरङको बूढीगंगामा रहेको विराट शिक्षण अस्पतालको अवस्था पनि उस्तै छ । महामारी चरमविन्दुमा पुग्दा विराटले दुई सय बेडसम्मको कोभिड अस्पताल सञ्चालन गर्‍यो । संक्रमण नियन्त्रण उन्मुख हुँदै जाँदा बेड संख्या ६० मा झारियो । २५ बेडको आइसीयू भरिएको छ ।

विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार केही दिनयता आईसीयू आवश्यक पर्ने गम्भीर एवं जटिल अवस्थाका संक्रमित धेरै आउन थालेका छन् । ‘दैनिक १०-१५ जनाभन्दा बढी बिरामी आइसीयू खोज्दै आउँछन्,’ उनी भन्छन्, ‘आइसीयू पूरै ‘प्याक’ भएकाले भर्ना लिन सकिएको छैन ।’

आइसीयूमा भर्ना भएकामध्ये तीनजनाको मृत्यु भएपछि गत बुधबार दिउँसो अरू जटिल अवस्थाका संक्रमितलाई भर्ना लिइएको जानकारी देवले दिए ।

‘संक्रमण पुष्टि भएपछि पर्याप्त चिकित्सकीय परामर्श एवं सहयोग बिनै होम आइसोलेसनमा बस्ने र अवस्था गम्भीर बनेपछि आइसीयू खोज्दै आउने बिरामीको संख्या धेरै छ,’ उनले भने, ‘छटपटाउँदै बिरामीको अवस्था अन्तिम भइसक्दा पनि आइसीयू उपलब्ध गराउन नसक्दा साह्रै विरक्त लाग्छ ।’ 

उनका अनुसार जटिल अवस्थाका कतिपय संक्रमित आईसीयूकै पर्खाइमा छन् । तर यसअघि भर्ना भएकाको डिस्चार्ज वा मृत्यु पर्खिएर बस्नुपर्ने बाध्यता आइसकेको देवले बताए ।

‘आईसीयूको माग अत्याधिक बढ्दा अवस्था निक्कै असामान्य र सोचेभन्दा गम्भीर भइसकेको छ,’ उनले भने, ‘अस्पतालमा यस्तो अवस्था आउनूले संक्रमण बढेको पुष्टि हुन्छ ।’

पछिल्लो समय प्रदेश १ मा संक्रमण अनियन्त्रित बन्दै गएको छ । एक दिनमा सात सयदेखि एक हजार दुईभन्दा बढी संक्रमित थपिँदैछन् । परीक्षण गरिएकामध्ये ४० प्रतिशतसम्ममा संक्रमण यकिन भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अस्पतालहरुमा गम्भीर बिरामीको चाप बढ्न थालेको छ । जसका कारण आइसीयूको अभाव खड्किएको हो । अक्सिजनको सहारामा आइसीयूको पालो पर्खिएर बस्ने संक्रमितको संख्या बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।

संक्रमणको पछिल्लो अवस्थाले दोस्रो लहरको झल्को दिन थालेको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा बढ्दो नागरिक बेवास्ता, कमजोर नियन्त्रण कार्यशैली, जनस्वास्थ्य मापदण्डको उल्लंघन र अत्याधिक चहलपहल संक्रमण बढ्नुको मुख्य कारण ठान्छन् । दोस्रो भेरियन्ट उत्कर्षको झल्को आउँदा तेस्रो भेरियन्टको संकेत मिलिरहेको उनको भनाइ छ ।

‘यसअघि निषेधाज्ञाले संक्रमण फैलावटको अवस्था कमजोर बनेको थियो,’ सुब्बाले भने, ‘जनजीविकामै असर परेपछि हटाइँदा भीडभाड एवं मानवीय गतिविधी बढेर समुदायस्तरसम्म संक्रमण पुगिसकेको छ ।’

उनका अनुसार सरकारले निषेधाज्ञा हटाउँदै गर्दा रोगको प्रकोप हटेको थिएन । तर निषेधाज्ञा हटेपछि मास्क नलगाउने, सरसफाईमा ध्यान नदिने, सामाजिक दूरीको पालना नगर्ने, भेला, बैठक, सभा, जुलुस, भीडभाड गर्नेजस्ता गतिविधीले संक्रमण ह्वात्तै बढाएको उनको विश्लेषण छ । तेस्रो भेरियन्टनजिक छौँ भनेर पुष्टि भइसकेको र निकट भविष्यमा यसअघिकै खराब अवस्था दोहोरिनसक्ने सुब्बाको चेतावनी छ ।

अझै संक्रमण बढेर ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै उनले जनस्वास्थ्यको मापदण्ड पालना र सावधानीमा कुनै कन्जुस्याइँ नगर्न सबैमा आग्रह गरे ।

‘मुलुकको स्वास्थ्य प्रणालीलाई चुस्त र सक्रिय बनाउँदै तयारी अवस्थामा राख्ने बेला भइसक्यो । यसअघिको गल्तीबाट पाठ सिकेर बेलैमा ध्यान दिन सकिएमा ठूलै संकट टर्ला,’ उनले भने, ‘नत्र यसअघिकै नियति भोग्नुपर्ने दिन अब धेरै टाढा छैन । परीक्षणको दायरा बढाउँदै खोप अभियानलाई व्यापक बनाएर लैजानुपर्छ ।’

मानवीय क्षति रोक्न खोपको व्यवस्थापन, संक्रमण फैलन नदिन कडाइ एवं जनस्तरबाट उच्च सावधानीको विकल्प नभएको जनस्वास्थ्य विज्ञ डा. सुब्बाको भनाइ छ । ‘हामी ठूलै जोखिमको नजिक छौँ ।

विगतमा लापरबाहीको परिणाम पनि भोगेर आयौँ,’ उनी भन्छन्, ‘सरकार र जनस्तरबाट भइरहेका गल्तीले नै पछिल्लो समय संक्रमण दर बढेर अवस्था भयावह बन्न लाग्यो । सरकारले अनुमान गरेभन्दा बढी क्षति हुनसक्छ ।’

सुब्बाले यसअघिजस्तो अस्पतालमा बेड र अक्सिजनको अभाव हुन नहुने बताए । ‘तेस्रो भेरियन्ट झन् खतरनाक हुनसक्छ,’ उनले भने, ‘सबैभन्दा धेरै बालबालिकालाई असर गर्नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ ।’

सम्भावित क्षति रोक्न सम्बन्धित निकायको समन्वयमा जनचेतनालाई प्राथमिकतमा राखेर कडाइ गर्दै नियन्त्रण एवं रोकथामको तयारी थालेर खोपको प्रभावकारी एवं व्यवस्थित वितरणलाई जोड दिइनुपर्ने उनको भनाइ छ ।

‘हामी अर्को ठूलो मानवीय क्षतिको नजिक छौँभन्ने पुष्टि भइसकेको छ,’ कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने, ‘केही दिनभित्रै अस्पतालहरुमा बेडको हाहाकार हुनसक्छ ।’

उनले अवस्था डेढ महिनाअघिको जस्तो भइसकेको जानकारी दिए । दासका अनुसार स्वास्थ्य मन्त्रालयले नै असोजसम्ममा तेस्रो लहर आउनसक्ने अनुमान गरेकाले पनि परीक्षणको दायरा बढाएर उपचार प्रणालीलाई प्रभावकारी बनाउँदै संक्रमणलाई निस्तोज पार्नतर्फ लाग्नुको विकल्प छैन ।

‘हाम्रो गलत शैली, गतिविधी र दिनचर्याका कारण संक्रमण फैलिनु स्वभाविक हो,’ डा. दासले भने, ‘नयाँ–नयाँ रूप फेर्दै सल्किरहने भाइरसलाई निस्तोज पार्नेतर्फ सबैको ध्यान केन्द्रित हुन आवश्यक छ ।’ 

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईका अनुसार प्रदेश १ मा साउन १ गतेयता २० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

थपिएका नयाँ बिरामीको तुलनामा निको भएर डिस्चार्ज हुनेको संख्या अत्यन्तै न्यून छ । यो अवधिमा उपचारपछि निको हुँदै आठ हजार जना मात्रै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किएको भट्टराईले बताए ।

उनका अनुसार प्रदेशमा हालसम्म एक लाख २० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भइसकेको छ । पीसीआर र एन्टिजेन विधिबाट पाँच लाखभन्दा बढीको परीक्षण भइसकेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here